
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले लकडाउनको स्वरुप परिवर्तन र हटाउनका लागि आ-आफ्नो नीति तयार गर्न राज्य सरकारलाई आग्रह गरेका छन्।
सोमबार सबै प्रदेशका मुख्यमन्त्रीहरुसँग भर्चुअल बैठक गर्दै मोदीले लकडाउन खोल्न एक नीति तयार गर्न आवश्यक भएको बताए। यसमा राज्य सरकारले अध्ययन गर्नुपर्ने उनको भनाई थियो।
'कुन तरिकाबाट लकडाउन खोल्ने भन्ने विषय राज्य सरकारले आफ्नो अवस्था हेरेर नीति तयार गरौं,' मोदीले भने, 'यसमा रेड, ग्रीन र अरेन्ज जोनमा राज्यहरुले आफ्नो इलाकामा लकडाउन खोल्न सक्छन्। जुन राज्यमा धेरै केस छन, त्यहाँ लकडाउन जारी रहनेछ, जून राज्यमा केस कम छन्, त्यहाँ सहुलियत दिइनेछ।'
प्रधानमन्त्री मोदीले लकडाउनबाट देशलाई ठूलो फाइदा मिलेको बताए। सामूहिक प्रयासको लाभ देखिएको उनको भनाई थियो।
प्रधानमन्त्री मोदीले अर्थव्यवस्थालाई लिएर तनाव नलिन पनि मुख्यमन्त्रीहरुलाई आग्रह गरे। उनले भारतको अर्थव्यवस्था राम्रो रहेको उल्लेख गरेका थिए।
भारतमा केन्द्रीय स्वास्थ्य मन्त्रालयले देशका अलग-अलग जिल्लामा जोनका हिसाबले वर्गीकरण गरेको छ। अहिलेसम्म १ सय ७० भन्दा बढी जिल्ला रेड जोनमा छन्।
भारतमा ३ मे सम्म लकडाउन लागु छ। यसलाई अगाडि कसरी लैजाने भनेर मोदीले मुख्यमन्त्रीसँग आज ३ घण्टा पराशर्म गरेको भारतीय सञ्चारमाध्मयले जनाएको छ।
भर्चुअल छलफलमा केही राज्यले लकडाउन बढाउन सुझाव दिएका छन् भने केहीले विभिन्न फेजमा हटाउनुपर्ने धारणा राखेका छन्।
प्रधानमन्त्री मोदीसँको भिडियो कन्फ्रेन्समा ओडिशाका मुख्यमन्त्री नवीन पटनायकले लकडाउन एक महिना बढाउन माग गरेका थिए। लकडाउन रोकिए स्थिति नियन्त्रण बाहिर जाने उनको भनाई थियो।