PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

कोरोेना संक्रमितको सम्पर्कमा आएका ६९ जनाको पिसिआर परीक्षण शुरु



राधेश्याम पटेल

कोरोेना संक्रमितको सम्पर्कमा आएका ६९ जनाको पिसिआर परीक्षण शुरु

वीरगंज : वीरगंजका दुई नयाँ कोरोना संक्रमितको सम्पर्कमा आएका ६९ जनाको पिसिआर परीक्षण प्रकृया शुरु भएको छ। वीरगंज–३ छपकैयाका ५५ वर्षीय पुरुषको सम्पर्कमा आउने घरपरिवारको ६९ जनाको थ्रोट स्वाब संकलन गरी हेटौँडास्थित प्रयोगशाला पठाइएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदनकुमार उपाध्यायले जानकारी दिए।

‘छपकैयाका पुरुष महानगरका सफाई कर्मचारी मध्येका वडा नम्बर ३ का नाइके पनि हुन्, त्यसैकारण उनको सम्पर्कमा आएका घरपरिवार र छिमेकीको आइतवार साँझ ३३ जना र सोमवार उनको सम्पर्कमा आएका महानगरका सफाई कर्मचारी ३६ जना गरी कुल ६९ जनाको पिसिआर परीक्षणको लागि स्वाब संकलन गरी हेटौडा पठाइएको छ,’ उनले भने।

यसैबीच, कोरोना भाइरस संक्रमित वीरगंजका एक युवाका परिवारको स्वाब नमुना लिन गएको स्वास्थ्यकर्मीको टोलीलाई स्थानीयले अवरोध गरेका छन्। स्थानीयको अवरोधपछि टोली रित्तो हात फर्किएको छ।

वीरगंजमा थपिएका दुई जना कोरोना संक्रमितमध्ये वीरगंज–१६ ईनार्वाका ४९ वर्षीय एक जना पुरुषका परिवारको स्वाब लिन स्वास्थ्य कार्यालय पर्सा र नारायणी अस्पतालका स्वास्थ्यकर्मीको टोली आइतवार राति ८ बजे पुगेको थियो। ‘कन्ट्याक्ट ट्रेसिङ’ अन्तर्गत उनको प्रत्यक्ष सम्पर्कमा आएका घरपरिवारका १४ जनालाई लक्षित गरी स्वाब संकलन गर्न पुगे तापनि स्थानीयको अवरोधका कारण खाली हात फर्किनु परेको टोलीले बताएको छ।

स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य निरीक्षक जयमोद ठाकुरका अनुसार स्थानीयको अवरोधको कारण आफूहरुलाई स्वाब संकलनमा समस्यामा भएपछि टोली सोमवार संकलन गर्न आउछौं भनेर अस्पताल फर्केको थियो।

‘हामीलाई १४ जना घरपरिवारको सदस्यहरुको थ्रोट स्वाब लिन पठाइएको थियो, तर स्थानीयले टोलका सय जनाको थ्रोट स्वाब संकलन गर्नुपर्छ भन्न थाले’, उनले भने, ‘गाउँमा भिडभाड गर्न थालेपछि खाली हात फिर्ता आउनु पर्‍यो।’

स्थानीयले शुरुमा सय जनाको स्वाब दिने, त्यसपछि ४२ जनाको र पछि २ हजारको मात्र संकलन गर्न दिन्छौँ भनेपछि आफूहरु बाध्य भएर फर्केको उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell