PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

झलनाथको प्रस्तावमा प्रचण्ड सहमत, भेटपछि खनालको चेतावनी: बैठक नबोलाए दुर्घटना हुन्छ



कुञ्जरमणि भट्टराई

झलनाथको प्रस्तावमा प्रचण्ड सहमत, भेटपछि खनालको चेतावनी: बैठक नबोलाए दुर्घटना हुन्छ

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले पार्टीमा देखिएको समस्या समाधानका लागि संस्थागत रुपमा बैठक बोलाउनुपर्ने बताएका छन्।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा आज दिउँसो भेटपछि पहिलोपोस्टसँगको कुराकानीमा नेता खनालले संस्थागत छलफलबाट मात्रै समस्याको समाधान हुने बताएका हुन्।

'अध्यक्षसँगको भेटमा मैले सचिवालय बैठक बोलाउनुपर्छ। संस्थागत रुपमा बैठक बसेर मात्रै समस्या समाधान गर्न सकिन्छ। तत्काल बैठक बोलाउन पहल गर्नुस् भनेँ,' उनले भने।

स्थायी कमिटी सदस्यहरुले पनि बैठक बोलाउन माग गरेकाले स्थायी कमिटी बैठक पनि बोलाउनुपर्ने जरुरी रहेको उनी बताउँछन्। प्रचण्ड पनि बैठक बोलाउनुपर्ने पक्षमा रहेको उनले सुनाए। 'अध्यक्ष पनि हामीसँगै बैठक बोलाउने पक्षमा हुनुहुन्छ,' उनले भने।

बैठक नबोलाए पार्टीमा दुर्घटना हुने खनालको भनाइ छ।

उनी भन्छन्, 'विधानसम्मत स्थायी कमिटी सदस्यहरुको लिखित मागपछि बैठक पनि बोलाउनुपर्छ। अहिलेसम्म सचिवालय बोलाइएको छैन। बैठक नबोलाइए दुर्घटना हुन्छ।'

कस्तो दुर्घटना भन्ने चाहीँ खुलाउन चाहेनन्। प्रचण्ड र खनालबीच दिउँसो २ घण्टा छलफल भएको थियो।

उता, अर्का वरिष्ठ नेता माधवकुमार नेपालको निवास कोटेश्वरमा प्रधानमन्त्री ओली समूहका नेताहरुसँग छलफल भइरहेको छ। खनाले उक्त छलफलबारे आफू जानकार नभएको बताए।

पछिल्लो समय अध्यादेश प्रकरणले नेकपामा विवाद चुँलिदै गएको छ। नेताहरु गुटगत छलफलमा व्यस्त छन्। प्रधानमन्त्री ओली सचिवालय र स्थायी कमिटी बैठक बोलाउने पक्षमा छैनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell