PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

कोटेश्वरमा नेपाल-ओली समूहको निष्कर्ष: मंगलवार सचिवालय बोलाउने, लगत्तै स्थायी कमिटी



कुञ्जरमणि भट्टराई

कोटेश्वरमा नेपाल-ओली समूहको निष्कर्ष: मंगलवार सचिवालय बोलाउने, लगत्तै स्थायी कमिटी

काठमाडौं: प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली समूह र वरिष्ठ नेता माधवकुमार नेपाल समूह पार्टीको बैठक बोलाउने निष्कर्षमा पुगेको छ। यसअघि ओली समूह कुनै हालतमा बैठक नबोलाउने अडानमा थियो।

आज नेता नेपालको समूहमा भएको दुई समूहको बैठकले भोलि मंगलबार सचिवालय बैठक बोलाउने निष्कर्ष निकालेको हो। बैठकमा केन्द्रीय सचिवालय बैठकले स्थायी कमिटीको बैठकको मिति तय गर्ने सहमति भएको हो।

'अब अविलम्ब स्थायी कमिटी बैठक बोलाउने र सबै विषय स्थायी कमिटीमा छलफल हुन्छ। भोलिको सचिवालयले स्थायी कमिटी बैठकको मिति तोक्ने छ,' नेता रघुजी पन्तले भने।

कोटेश्वरमा रहेको नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघको कार्यालयमा भएको बैठकमा ओली समूहबाट नेता ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, सुवास नेम्वाङ र शंकर पोखरेल सामेल भएका थिए भने नेपाल समूहबाट भीम रावल, भीम आचार्य, रघुजी पन्त र सुरेन्द्र पाण्डे सामेल भएका थिए।

छलफल अघि ओली र नेपालबीच बालुवाटारमा छलफल भएको थियो। नेकपामा सचिवालय र स्थायी कमिटी बैठक बोलाउन नेतृत्वलाई दबाब छ। स्थायी कमिटी सदस्यहरुले बैठक डाक्न लिखित माग राखेका छन्।

आजै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता झलनाथ खनालबीच खुमलटार भेट भई बैठक बोलाउन दबाब दिने समझदारी भएको थियो।

अध्यादेश प्रकरणसहित पछिल्ला राजनीतिक घटनाक्रम र कोरोनाविरुद्ध प्रभावकारी लडाईंका विषयमा छलफल गर्न नेकपाका सदस्यहरुले बैठकको माग गर्दै आएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell