
विश्वव्यापी माहामारी कोरोना भाइरसका कारण सबै कार्यक्रमहरु स्थगित भएका छन्। साथै स्थगनको विकल्पहरु पनि खोजिएका छन् जसका लागि सामाजकि सञ्जाल एवं अन्य अनलाइन माध्यम सहज बनेको छ। अनलाइन माध्यमकै प्रयोगमा विश्व सिनेमाका ठूला महोत्सवहरु आयोजनाको तयारी भइरहेको छ।
बर्लिन, कान्स, टोरोन्टो, भेनिस लगायत फिल्म फेस्टिभलहरु पनि यो वर्ष आयोजना नहुने निश्चित भएपछि भर्चुअल मोहत्सव हुने भएको हो। 'वि आर वान : अ ग्लोबल फिल्म फेस्टिभल' नाम दिइएको कार्यक्रमलाई युट्युबले होस्ट गर्दैछ।
मेको २९ तारिखबाट सुरु हुने महोत्सव १० दिन लामो हुनेछ। उक्त कार्यक्रमबाट संकलित रकम विश्व स्वास्थ्य संगठनलाई हस्तान्तरण गरिने बीबीसीले जनाएको छ। कोभिड-१९ रोकथाम तथा नियन्त्रण सहयोगार्थ उक्त रकम दिइने हो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रमले विश्व स्वास्थ्य संगठन चीन परस्त भएको आरोप लगाए। लगत्तै संगठनलाई दिँदै आएको आर्थिक सहयोग रोक्ने घोषणा गरेका थिए। त्यसपछि गायक गायिकाले स्वास्थ्य संगठन सहयोगार्थ भर्चुअल कन्सर्ट आयोजना गरेको थियो।
यस भर्चुअल फिल्म फेस्टिभलमा विश्वभरका २० चर्चित फिल्म फेस्टिभल आयोजकले सहभागिता जनाउँदै छन्।