PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

पूर्वमाओवादी समूहका नेता खुमलटार पुगेर प्रचण्डलाई सोधे : अब के गर्ने?



प्रकाश भण्डारी

पूर्वमाओवादी समूहका नेता खुमलटार पुगेर प्रचण्डलाई सोधे : अब के गर्ने?

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा राष्ट्रिय सभाका सांसद दिनानाथ शर्माले आजै सचिवालय बैठक बस्ने दाबी गरेका छन्।

आफूले मंगलबार विहान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेको र उनले आजै बैठक बस्ने जानकारी दिएको बताए। 'अहिलो देखिएको घटनाक्रमले उहाँ पनि चिन्तित हुनुहुन्छ। अब सचिवालयमा सबै कुराको छिनोफानो गर्छु भन्नुभयो,' उनले भने।

शर्माले प्रचण्डसँग लामो कुराकानी नभएको बताए। आफूले भेटमा अहिले राजनीतिक घटनाक्रम ठिक ढंगले भइहरेका छैनन् अब के गर्ने भनेर सोधेको बताए। 

उनले नेकपाभित्रको मत भिन्नताको स्थिति चाँडै छलफलबाट टुंगिने बताएको जानकारी दिए।

प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्पको विषयमा आफूसँगको भेटमा छलफल नभएको शर्माको दाबी छ। 'प्रधानमन्त्रीकै विकल्पको बारेमा छलफल भएन। तर, अहिले देखिएको घटनाक्रमको बारेमा छलफल भएको हो। यसको चाँडै समाधान गर्छु भन्नुभयो,' उनले भने।

नेकपाको आन्तरिक किचलो सतहमै आएका बेला प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले सचिवालय र स्थायी समितिको बैठक माग गरेका छन्। तर, प्रधानमन्त्री तथा पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड नेपाल समूहको माग टार्दै आएका छन्।

ओली, नेपाल र प्रचण्ड आ-आफ्ना समूहका नेतासँग पछिल्लो केही दिनयता छलफलमा जुटेका छन्। 

सरकारले पार्टीलाई खबर नै नगरी अध्यादेश ल्याएको भन्दै नेकपाभित्रको विवाद पेचिलो बन्न थालेको छ। ओली समूह इतरका २० स्थायी समिति सदस्यले प्रचण्ड र ओलीलाई पत्र लेख्दै तत्काल स्थायी समिति बैठक बोलाउन माग गरेका थिए।

पार्टी संरचनामा अल्पमतमा रहेका ओलीले बैठकमा आफूमाथि दबाब पर्ने भन्दै अध्यादेश फिर्ता लिइसकेकाले बैठकको औचित्य नभएको बताउँदै आएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell