PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

टोपबहादुर रायमाझी भन्छन्: हस्ताक्षर अभियान बेठिक हो, रिस, आवेश र निषेधले पार्टीलाई विभाजनतिर लान्छ



कमलराज भट्ट

टोपबहादुर रायमाझी भन्छन्: हस्ताक्षर अभियान बेठिक हो, रिस, आवेश र निषेधले पार्टीलाई विभाजनतिर लान्छ

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीमा अध्यादेश प्रकरणले असन्तुष्टि बढेको छ। गुटहरु सक्रिय भएका छन्। प्रचण्ड र नेपाल समूह मिल्दा संस्थापन (ओली) समूह अल्पमतमा परेको छ।

पार्टीमा सल्लाह नगरी अध्यादेश ल्याएको र हतार हतार खारेज गर्दा सरकार तथा पार्टीको साख गिरेको भन्दै प्रचण्ड र नेपाल समूहले सचिवालय र स्थायी कमिटी बैठकको माग गरिरहेका छन्। बैठकको माग राख्दै नेताहरुले हस्ताक्षरसमेत नेतृत्वलाई बुझाएका छन्। बैठक बोलाउन चौतर्फी दबाब परेका बेला संस्थापन समूह सकारात्मक देखिएको छ। आजै बैठक बोलाउने तयारी भइरहेको छ।

यहीँ बेला पूर्वमाओवादी र नेपाल समूहका सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अर्को हस्ताक्षर अभियान चलाएका छन्। ओलीले पार्टीभित्र र सरकारमा बसेर एकलौटी गरेको, जनहित विपरितका गतिविधि दोहोर्‍याएको भन्दै प्रचण्ड र नेपाल समूहका केही सांसदले सोमवारदेखि हस्ताक्षर अभियान सुरु गरेका हुन्।

यो अभियानको पूर्वमाओवादी नेता एवं स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले विरोध गरेका छन्। 'हिजो यसबारे हल्ला खल्ला थाहा पाए। म हस्ताक्षर अभियानमा संलग्न भएको छैन,' उनले भने, 'हामीले स्थायी कमिटी बैठक बसेर सरकारका समस्याहरु सम्भावनाहरु योजनाहरु गम्भीर छलफल गरेर हल गर्ने भनेर हस्ताक्षर गरेर माग गरिसकिएको छ। फेरि संसदका सदस्यहरुले हस्ताक्षर गर्ने कुरा थाहा छैन। यो हुन सक्दैन। यदि यस्तो भएको छ भने बेठिक हो।'

अहिलेको कोरोना संकटका बेला प्रधानमन्त्रीको विकल्प खोज्नेगरी हस्ताक्षर अभियान चलाउनु ठिक नभएको उनको भनाई छ। 'यो होला जस्तो लाग्दैन। तर, जसले गरेको भए पनि बेठिक हो। जताबाट भए पनि यो बेठिक हो। यसले पार्टीलाई विभाजनतिर लान्छ।'

रायमाझीले अभियानको विरोध गर्दा आफूलाई सरकार पक्ष र अर्को पक्ष भनेर देखाउन खोजिएकोमा असन्तुष्टि जनाउँदै यस विषयमा आफूलाई केही जानकारी नभएको दावी गरे।

'मेरो धारणा के हो भने पार्टी एकताबद्ध बनाउन स्थायी कमिटीको बैठक बसाल्ने। बहस गर्ने। कहाँ कहाँ कमजोरी रहे, समस्या रहे? गम्भीर रुपमा छलफल गर्ने। त्यसपछि सहमतिबाटै निष्कर्ष निकालौं,' उनले भने।

रायमाझीले भर्खर पार्टी एकता भएको र एकताको कामहरु पुरा नभएको बेला एकले अर्कालाई दबाब दिएर, निषेध गरेर गए पार्टी विभाजनतिर जाने चेतावनी समेत दिए। 'एकता नहुँदै फुटमा बदलिन्छ। कम्युनिस्ट आन्दोलनमै नकारात्मक सन्देश जानेवाला छ। त्यसकारण यतिबेला एकले अर्कालाई निषेध होइन कि अलि धैर्यतापूर्वक, संयमतापूर्वक रिसआवेशमा नआइकन हामीले गम्भीर रुपमा मसिनो पाराले छलफल गर्नुपर्दछ र निष्कर्ष निकाल्नुपर्दछ,' उनले जोड दिए।

नेकपाभित्रको राजनीति गर्माइरहेका बेला रायमाझी भने काठमाडौंमा बसेर लकडाउनले संकटमा परेका नागरिकको उद्धार र सेवा गर्ने, कोरोना भाइरसविरुद्ध लड्न साधनस्रोत जुटाउने, स्वास्थ्य सामग्री जुटाउने काममा सक्रिय छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell