
काठमाडौं: सरकारी वकिल कार्यालयले सांसद अपहरण जाहेरी दर्ता गर्न अस्वीकार गरेको छ।
आफ्ना सांसदको अपहरण भएको भन्दै जनता समाजवादी पार्टी नेपालका नेताहरु मंगलबार दिउँसो सरकारी वकिल कार्यालय पुगेका थिए।
तर, सरकारी वकिल कार्यालयले भने आधारभूत रुपमा जाहेरी बुझ्ने निकाय प्रहरी भएकाले प्रहरीले दर्ता इन्कार गरेको लिखित प्रमाण नभएसम्म कारवाही अघि बढ्न नसक्ने जवाफ दिएको छ।
सरकारी वकिल कार्यालयमा पनि जाहेरी दर्ता नभएपछि जसपाका नेताहरु फर्किएका छन्।
आफ्ना सांसद डा. सुरेन्द्र यादवको अपहरण गरेको भन्दै जसपाले पूर्वआईजीपी सर्वेन्द्र खनाल, र बहालवाला सांसदद्वय महेश बस्नेत र कृष्णकुमार श्रेष्ठविरुद्ध पार्टीले जाहेरी दर्ताको प्रक्रिया अघि बढाएको थियो।
आइतबार महानगरीय प्रहरी परिसर टेकुमा जाहेरी दर्ताका लागि पार्टी नेताहरु पुगे पनि दर्ता इन्कार भएको थियो।
प्रहरीले घटनाको क्षेत्राधिकार महोत्तरी भएको भन्दै जाहेरकर्तालाई फर्काएको थियो। सोपछि सोमबार पार्टी नेता बाबुराम भट्टराई लगायतले महान्यायाधिवक्ता अग्नि खरेलसँग पनि परामर्शको प्रयास गरेका थिए। तर, परामर्श भएन।
मंगलबार पार्टीका नेताहरु जिल्ला सरकारी वकिल कार्यालयमा जोहरीसहितको निवेदन लिएर पुगेका थिए। नेताहरु बाबुराम भट्टराई, राजेन्द्र महतो, अशोरक राई, शरतसिंह भण्डारी सरकारी वकिल कार्यालय पुगेका हुन्।
फौजदारी कार्यविधि संहितको परिच्छेद २ मा प्रहरीले जोहरी लिन नमाने सोको जानकारीसहित एक तह माथिल्लो प्रहरीको निकाय वा सरकारी वकिल कार्यालयमार्फत जाहेरी दर्ता गर्न सकिने व्यवस्था छ।