
मुम्बई : भारतीय अभिनेता इरफान खान अचानक बिरामी भएपछि उनलाई अस्पताल भर्ना गरिएको छ। उनलाई मुम्बईस्थित कोकिलाबेन अस्पतालको आइसियूमा भर्ना गरिएको हो।
केहि दिन अघि मात्र इरफानकी आमा सईदा बेगमको निधन भएको थियो। तर, उनी आमाको अन्तिम संस्कारमा जयुरस्थित घर जान पाएनन्। आमाको निधन भएसँगै इरफान बिरामी परेका थिए।
त्यसो त दुई वर्ष अघि सन् २०१८ मार्चमा इरफानले आफ्नो बिमारीको बारेमा थाहा पाएका थिए। उनलाई ‘न्युरो इन्डोक्राइन ट्युमर’ भएको थियो। इरफानले ट्विट मार्फत आफूलाई ‘न्युरो इन्डोक्राइन ट्युमर’ भएको खुलासा गरेका थिए।
उनले ट्विट गर्दै भनेका थिए, ‘जिन्दगीमा अचानक केही यस्तो भइदिन्छ, कि तपाईलाई अघि लिएर जान्छ। मलाई न्युरो इन्डोक्राइन ट्युमर भएको छ। तर, मेरो वरिपरि रहेका मानिसहरुको प्रेम र साथले गर्दा बाँचेको छु।’
इरफान पछिल्लो समय फिल्म ‘अंग्रेजी मिडियम’मा देखिएका थिए। फिल्म ‘अंग्रेजी मिडियम’को छायांकन लगत्तै उनी उपचारको लागि बेलायत पुगेका थिए।