
काठमाडौं : असार मसान्तको ब्याज भुक्तानी गर्दा ऋणीलाई दुई प्रतिशत ब्याज सस्तो पर्ने भएको छ। चैतमा कायम ब्याजको तुलनामा असारमा दुई प्रतिशत विन्दु कम पर्ने भएको हो।
मानौं चैतमा १० प्रतिशत ब्याज छ भने असारको ब्याज ८ प्रतिशत मानेर बैंकले किस्ता असुल गर्ने छ। राष्ट्र बैंकले मंगलवार सार्वजनिक सूचना प्रकाशित गर्दै कोभिड(१९ बाट ऋणीहरुमा परेको असर न्यूनीकरण गर्न बैंक तथा वित्तीय संस्थाहरुले ऋणीहरुको गत चैत मसान्तसम्म कायम ब्याज दरमा दुई प्रतिशत विन्दुले कम गरी चालु वर्षको चौथो त्रैमासको ब्याज गणना गर्नुपर्ने व्यवस्था गरेको छ।
तर यो छुट सबैले पाउँदैनन्। खाद्यान्न प्रशोधन तथा बिक्री व्यवसायसँग सम्बन्धित, ग्यास उत्पादन तथा बिक्री वितरणसँग सम्बन्धित, सोप एण्ड केमिकल्स, औषधि बिक्रीसँग सम्बन्धित उद्योग, इन्टरनेट सेवा प्रदायक, दूरसञ्चार सेवा प्रदायक, टेलिभिजन तथा प्रदायक, सुर्ती तथा मदिराजन्य उद्योग, सञ्चालनमा रहेका जलविद्युत परियोजनाहरुले पनि यो सुविधा पाउँदैनन्।
प्रभावित उद्योग तथा व्यवसायले आधार दरभन्दा कममा पनि ऋण पाउने छन्। असार मसान्तपछि भने विद्यमान व्यवस्था अनुसार आधार दरका आधारमा कायम हुने ब्याज निर्धारण गर्न बैंकहरु स्वतन्त्र हुने छन्।
बैशाख तथा जेठमा असुल गर्नु पर्ने मासिकरत्रैमासिक किस्ताहरुको भुक्तानी असार मसान्तसम्म हुने व्यवस्था मिलाउनु पर्नेछ। यस्ता किस्ताको हकमा कुनै पनि शुल्क तथा हर्जाना लगाउन पाइने छैन। लकडाउन अवधिमा भुक्तानी गर्नुपर्ने सम्पूर्ण चालु पुँजी प्रकृतिका अल्पकालीन कर्जाहरुको साँवा तथा ब्याजको भुक्तानी अवधि ६० दिनसम्म थप गर्न सकिने भएको छ।
यसअघि राष्ट्र बैंकले सबै खालको ऋणमा ब्याज छुटदेखि ऋण तिर्ने समयसमेत थप गरिदिएको थियो। यसपाली भने क्षेत्र तोकेर मात्र ब्याज दरमा छुट दिने नीति लिएको छ।
होटल, रेस्टुरेन्ट, रिसोर्ट, ट्राभल र ट्रेकिङलगायत पर्यटनसँग सम्बन्धित क्षेत्रका साथै हवाई उड्डयन, व्यावसायिक प्रयोजनका सवारी साधन, साना तथा मझौला उद्योग, निर्यात उद्योग, मनोरञ्जन उद्योग, अस्पताल, पोल्ट्री व्यवसायलगायतमा सक्रिय वर्गमा रहेको ऋणीको परियोजना तथा व्यवसायमा परेको प्रभाव तथा वित्तीय अवस्थाको आधारमा ऋण प्रदान गर्न संस्था आश्वस्त भएमा आवश्यकता पहिचान गरी स्वीकृति सीमाको १० प्रतिशतसम्म थप चालु पुँजी कर्जा उपलब्ध गराउन सक्ने छन्। कस्तालाई दिने कस्तालाई नदिने भन्ने अधिकारी बैंक तथा वित्तीय संस्थालाई छोडिएको हो।