
काठमाडौं : केही दिन सम्म उपत्यकाभित्रको लकडाउन खुकुलो भएकोमा मंगलवार भने एक्कासी कडाइ गरियो। गृह मन्त्रालयको निर्देशन अनुसार लकडाउनलाई थप कडाइ गरिएको हो।
लकडाउन कडाइ गर्दा सम्बन्धित प्रशासनको अनुमति पासविना हिडेका सवारी साधन कारबाहीमा परे। एक्कासी भएको कडाईका कारण कारबाहीमा पर्नेको सङख्या पनि ह्वातै बढ्यो। अहिलेसम्मको लकडाउन अवधिमा सबैभन्दा धेरै सवारी साधन नियन्त्रणमा लिएको हो।
मंगलवार उपत्यकाभित्रबाट १ हजार ४ सय २४ वटा सवारी साधन नियन्त्रणमा लिएको महानगरिय ट्राफिक प्रहरी महाशाखाका एसपी जीवनकुमार श्रेष्ठले जानकारी दिए। दुई पाङ्ग्रे सवारी साधन १ हजार २ सय ८६ र चार पाङ्ग्रे १ सय २८ वटा नियन्त्रणमा लिएको हो।
त्यस्तै पासको दुरुपयोग गरेर हिँड्नेलाई समेत प्रहरीले कारबाही गर्यो। २७ वटा सवारी साधन पासको दुरुपयोग गरेर गुडाइएको पाइएको एसपी श्रेष्ठले जानकारी दिए।
उपत्यकामा लकडाउन उल्लङ्घन गरेर सवारी कुदाएकोमा अहिलेसम्म १४ हजार ८ सय ५ वटा सवारीलाई नियन्त्रणमा लिएको महाशाखाले जानकारी दिएको छ। त्यस्तै २ हजार १ सय १० वटा सवारी पास दुरुपयोग गरेर सवारी चलाइएको भेटिएको छ।
आज (बुधवार) पनि लकडाउन थप कडाइ गर्ने प्रहरीले जानकारी दिएको छ।