PahiloPost

Jan 13, 2026 | २९ पुष २०८२

नेकपाका नेताहरुका लागि पेचिलो बन्दै आजको दिन, सचिवालय बैठकमा सबैको ध्यान



पहिलोपोस्ट

नेकपाका नेताहरुका लागि पेचिलो बन्दै आजको दिन, सचिवालय बैठकमा सबैको ध्यान

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली असहमत भएपछि बस्न नसकेको नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक आज बस्ने भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी हिसाबले दुई अध्यादेशलाई अगाडि बढाएपछि सुरु भएको नेकपाभित्रको खिचलो अध्यादेश फिर्ता भइसक्दा पनि सकिएको छैन। प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता गरे पनि पार्टीभित्रको तनाव र ध्रुविकरण रोकिएको छैन। पूर्व नेकपा एमाले र पूर्व नेकपा माओवादी केन्द्रका कार्यकर्ता तहसम्मै यस विषयलाई लिएर बहस र घोचपेच जारी छ।

पूर्व नेकपा एमालेभित्र पनि प्रधानमन्त्रीको कदमले चरम असन्तुष्टि पैदा गरेको छ। प्रधानमन्त्री ओली एकातिर छन् भने पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र झलनाथ खनाल अर्कोतिर। पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री ओलीको चर्को पेलानमा परेकाले जति फकाउन खोजे पनि नेपाल र खनाल ओलीसँग आश्वस्त हुन सकेका छैनन्। अर्कातिर पार्टी अध्यक्ष समेत रहेका पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल पनि ओलीको कार्यशैलीबाट रुष्ट छन्।

पटक पटक आफू ठगिएको अभिव्यक्ति दिँदै आएका उपाध्यक्ष वामदेव गौतम पनि प्रधानमन्त्रीसँग आक्रोसित छन्। नेकपाका २०  स्थायी कमिटी सदस्यले लिखित रुपमा नै स्थायी कमिटी बैठकका आह्वान गरिसकेका छन्। स्थायी कमिटीमा पनि अल्पमतमा रहेका प्रधानमन्त्री ओली कसैगरी पनि बैठक टाल्ने प्रयासमा छन्। तर, असन्तुष्ट समूह कसैगरी पनि प्रधानमन्त्रीका क्रियाकलापलाई अहिलेकै अवस्थामा छाड्न तयार छैन। त्यही बैठकको विषयलाई लिएर आज सचिवालय बैठक बस्न लागेको हो। हिजो आलटाल गरेका प्रधानमन्त्री ओलीले आजका लागि बैठक बस्न सहमति जनाएका हुन्। यद्यपि, साँझ बस्ने भनेको बैठक दिनभरिको राजनीति घटनाक्रमले कुन मोड लिन्छ त्यसमै निर्भर रहने छ।

अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपालको चर्को दबावपछि बैठक बोलाउन ओली सहमत भएका हुन्। अहिलेको अवस्थामा सचिवालय समीकरणमा पनि ओली कमजोर छन्। आज बैठक बस्न सक्यो भने त्यसले स्थायी कमिटीबारे केही निर्णय लिनसक्छ। त्यसैले नेकपाका नेताहरुका लागि आजको दिन निक्कै पेचिलो हुने देखिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell