
स्पेनमा लकडाउन खोल्ने तयरी भइरहेको छ। जुन महिनाको अन्तिमसम्ममा ४ चरणमा लकडाउन हटाउने बारे त्यहाँका प्रधानमन्त्री पेड्रो सान्चेजले बताएका हुन्।
स्पेनका चार द्वीपमा भने मे ४ देखि नै लकडाउन हटाउने घोषणा भयो। स्पेनका विभिन्न क्षेत्रमा कोरोना भाइरस संक्रमणको प्रभाव अनुरुप लकडाउन खुला गर्दै जाने बताइएको छ।
जोन होप्किन्स युनिभर्सिटीका अनुसार स्पेनमा हालसम्म २ लाख ३२ हजार १ सय २८ मानिसमा संक्रमण पुष्टि भएको छ। त्यस्तै २३ हजार ८ सय २२ संक्रमितले ज्यान गुमाएका छन्।
मार्चको १४ तारिखदेखि स्पेनमा निकै कडाइका साथ लकडाउन लागु भएको छ। ६ साता भयो त्यहाँका बालबालिकालाई घर बाहिर निस्कन निषेध गरिएको छ। त्यस यता स्पेनको दैनिक नयाँ संक्रमण र मृत्यु दरमा कमी आएको छ।
मंगलवार ३ सय १ संक्रमितको मृत्यु भयो। सोही दिन १ हजार ३ सय ८ नयाँ संक्रमित देखिए। उक्त संख्या मार्च १४ यताको सबैभन्दा थोरै हो।
नयाँ संक्रमण देखिँदै गर्दा पनि कसरी हटाउँदै छ त स्पेनले लकडाउन?
स्पेनले यसअघि नै उत्पादनमुलक र निर्माण कार्य पुन: सञ्चालनमा ल्याउन अनुमति दिइसकेको थियो।
मंगलवार प्रधानमन्त्रीले मे ४ देखि ११ सम्ममा हेयर ड्रेसर लगायत 'अपोन्टमेन्ट' आवश्यक पर्ने सेवा प्रदायकहरु खुला गर्ने बताएका छन्। रेस्टुरेन्टहरु त्यहँ बसेर खान नपाउने तर खाना लग्न पाउने गरी खुल्दैछन्। त्यस्तै खेलकुदका विभिन्न लिगहरुका लागि तालिम सुरु हुनेछ।
संक्रमितको संख्या, अस्पतालको पूर्वाधारका आधारमा फरक प्रदेशमा फरक ढङ्गबाट लकडाउन लचिलो बनाउँदै लगिने बताइएको छ।
प्रधानमन्त्री पेड्रोले भने,'बढीमा ८ सातासम्ममा हामी सामान्य अवस्थामा फर्कने छौं। तर त्यो सामान्य अवस्था विल्कुल नयाँ र फरक हुनेछ। न्यू नर्मल हुनेछ।'