
नयाँ दिल्ली : भारतमा पछिल्लो एक दिनमा १ हजार ८ सय ४० नयाँ कोरोना संक्रमित थपिएका छन् भने ६९ जनाको यसैका कारण मृत्यु भएको छ।
यससँगै भारतमा कोरोना संक्रमितको संख्या ३१ हजार ४ सय ११ जना पुगेको छ भने मर्नेको संख्या १ हजार माथि।
मंगलवार अहिलेसम्मकै धेरै केस पहिचान भएको हो भने एकै दिन मृत्यु हुनेको संख्या पनि यो सबैभन्दा धेरै हो। महाराष्ट्रमा सबैभन्दा धेरैको ज्यान गुमेको छ। एकै दिन ३१ जनाले यहाँ ज्यान गुमाएका छन्। त्यस्तै दोस्रोमा गुजरातमा १९ जनाले ज्यान गुमाए। मध्य प्रदेशमा १० र नेपालसँग जोडिएको उत्तर प्रदेशमा ३ जनाले ज्यान गुमाए। मुम्बईमा मात्र २५ जना र अहमदावादमा १९ जनाले एकै दिन ज्यान गुमाएका छन्।
महाराष्ट्रमा ७ सय २९ जना कोरोना संक्रमित थपिए भने तामिलनाडूमा १ सय २१ जना थपिएका छन्। गुजरातमा २ सय २६ र दिल्लीमा २ सय ६ जनामा कोरोना संक्रमित थपिएका छन्।
राजस्थान र जम्मु कस्मीरमा दुई/दुई जनाको मृत्यु भएको छ। दिल्लीमा लगातार दुई दिन एकजनाको पनि मृत्यु भएको छैन जबकि यहाँ कोरोना संक्रमितको संख्या ३ हजार ३ सय १४ पुगेको छ जुन महाराष्ट्र र गुजरातपछिको धेरै हो।