काठमाडौं : १ सय २६ जना नेपालीमा कोभिड १९ को संक्रमण देखिएपछि बहराइनस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपाली कामदारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तयारी थालेको छ। मंगलवार राजदूत पदम सुन्दासले बहराइनको विदेश मन्त्रालयका उपसचिव डाक्टर सेख राना विन्ट इसा बिन दाइज अल खलिफासँग टेलिफोन वार्ता गर्दै नेपाली कामदारलाई सामाजिक दुरी कायम गर्न सक्ने स्थानमा स्थानान्तरणका लागि अनुरोध गरेका हुन्।
टेलिफोन सम्वादका क्रममा नेपालीहरुको सुरक्षाप्रति बहराइन सरकार सकरात्मक रहेको र दूतावासलाई नयाँ स्थानको पहिचानका अनुरोध गरिएको थियो।
'कुराकानीका क्रममा उहाँले महामहिमले श्रमिकहरुको सुरक्षाप्रति राजदूतावासले जनाउँदै आएको चासोलाई आफूले सकरात्मक रुपमा लिएको बताउनुहुँदै नयाँ वासस्थानमा दूतावासले अवलोकन गरी शाश्वस्त हुन अनुरोध गर्नुभयो,' दूतावासले जारी गरेको वक्तव्यमा उल्लेख छ।
बहराइन सरकारले विदेशी कामदारका लागि नयाँ आवासको व्यवस्था गर्दै त्यस्ता आवासमा स्वास्थ्यकर्मी (नर्स) उपलब्ध रहने उनले जानकारी दिएका थिए। उनले क्रमिक रूपमा नेपाली श्रमीकहरूलाई स्थानान्तरण गर्ने जानकारी दिएका थिए।
राजदूत सुन्दासले दूतावासको अनुरोधलाई सकारात्मक रूपमा लिई नेपाली नागरिकहरूको सुरक्षा तथा हित प्रवर्धनमा निरन्तर समन्वय तथा सहयोगका लागि बहराइन सरकारलाई धन्यवाद दिएको दूतावासले जनाएको छ। साथै यसरी व्यवस्था गरिएका नयाँ आवास क्षेत्रको दूतावासले चाँडै अनुगमन गर्ने जनाएको छ।
बहराइनमा फेब्रुअरी २१ मा पहिलो संक्रमण देखिएको थियो। यहाँ रहेका नेपालीहरु पनि संक्रमित भएका छन्।
मंगलवारमात्र बहराइनमा ८७ नयाँ संक्रमित पुष्टि भएका छन्। यससँगै संक्रमितको संख्या दुई हजार आठ सय १० पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयलाई उदृत गर्दै गल्फ न्यूजले जनाएको छ।
मंगलवार संक्रमण पुष्टि भएका मध्ये सबैभन्दा धेरै प्रवासी कामदारहरु रहेका छन्। संक्रमित मध्ये ७२ जना प्रवासी कामदार रहेका छन्। त्यस्तै १५ जना नयाँ संक्रमित पुराना संक्रमितसँग प्रत्यक्ष सम्पर्कमा रहेका व्यक्ति रहेको बताइएको छ।
मंगलवार मात्र कोभिड-१९ का २८ संक्रमितहरु रोग निदानपछि अस्पतालबाट डिस्चार्ज भएका छन्। योसँगै संक्रमण मुक्त हुनेको संख्या एक हजार दुई सय १८ पुगेको समाचारमा उल्लेख छ।
यहाँ मृत्यु हुनेको संख्या ८ जना रहेको छ।
पछिल्लो पटक थप ७७ जना नेपालीमा संक्रमण भएको दूतावासले जनाएको छ। यससँगै त्यहाँ रहेका एक सय २६ जना नेपालीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
बहराइनको श्रमबजार नियमन निकाय (एलएमआरए)ले अप्रिल ७ बाट बहराइनमा अवैधानिक रूपमा विना कागजात कार्यरत कामदारहरूका लागि वैधानिक हुन वा बहराइन छोड्न ३१ डिसेम्बर सम्मको समय दिएको छ।
बहराइनले कोभिड-१९ विरुद्धको लडाइका लागि निजी व्यवसायीहरुसँग आप्रवासी कामदारलाई सुरक्षित राख्नका लागि भवन उपलब्ध गराउन अनुरोध गरेको छ। हाल बहराइनमा कामदार राखिएका मध्ये ५९ प्रतिशत भवन निजी क्षेत्रले उपलब्ध गराएको त्यहाँको परराष्ट्र मन्त्रालयले जनाएको छ।
ती भवनहरुमा हालसम्म सात हजार ४६ कामदारलाई राखिएको र उनीहरुलाई एलएमआरएले नियमन गरिरहेको बताइएको छ। जसमध्ये ४२ प्रतिशत भवनहरु आप्रवासी कामदारहरुका लागि छुट्याइएका छन्। जसमा दुई हजार सात सय ३९ जना आप्रवासी कामदारहरुलाई सेल्फ आइसोलेसनमा राखिएको बहराइन न्यूज एजेन्सीले जनाएको छ।
त्यस्तै बहराइन सरकारले लकडाउनका लागि कामदारहरुको खानाको समेत ब्यवस्था गरेको छ। २३ हजार पाँच सय प्रावासी कामदारलाई बहराइनले खाद्यान्न उपलब्ध गराएको जनाएको छ।
बहराइनले हालसम्म दुई हजार चार सय ७३ सार्वजनिक आइसोलेसन तथा उपचार केन्द्र तयार पारेको छ। त्यस्तै, निजी आइसोलेसन सेन्टरमा १३६ बेड तयार पारेको छ।
त्यस्तै एक हजार ६ सय ७३ जना अट्ने सार्वजनिक क्वारेन्टाइन सेन्टर तथा आठ सय एक जना अट्ने निजी क्वारेन्टाइन सेन्टर समेत तयार गरिएको छ।बहराइनमा संक्रमितको संख्या बढ्दै जाँदा त्यहाँको स्वास्थ्य मन्त्रालयले ट्रकहरुलाई परीक्षण केन्द्रको रुपमा विकास गरेको छ भने कार पार्किङ स्टेसनलाई सघन उपचार कक्षमा परिणत गरेको छ।