
काठमाडौं : संसारभर कोभिड-१९ को संक्रमण फैलिँदै गर्दा विदेशबाट फर्किएका नेपालीलाई स्वदेशमै रोजगारीमा जोड्ने अभियान विवेकशील नेपाली दलले सुरु गरेको छ। विवेकशीलले स्वदेश फर्किएका नेपालीहरुलाई नेपालमा रहेका रोजगारदातासँग जोड्दै उनीहरुलाई स्वदेशमै रोजगारी दिने गरी अभियान थालेको हो।
अभियानका लागि दलले रोजगारी संकटमा परेका नेपालीको सहयोग गर्न सूचना तथा सहायता हुनेगरी वेबसाइट बनाउँदै छ। विदेशबाट नेपाल फर्किने नेपाली जनशक्ती र रोजगारदाता त्यस वर्क फर नेपाल नामक साइटमार्फत् जोडिने छन्।
विवेकशिलले जारी गरेको विज्ञप्तीमा लेखिएको छ,'प्रविधिको प्रयोगसहित नेपाल फर्किएका लाखौं दक्ष, अर्धदक्ष जनशक्तिलाई नेपालमै आ-आफ्नो पेशा, रोजगार र विषयगत दक्षता अनुसारको काममा जोड्नु नै हाम्रो उद्देश्य हो।'
विवेकशिल नेपाली दलको संघिय सूचना तथा सञ्चार विभाग प्रमुख आलोक सुबेदीका अनुसार पोर्टलमार्फत् विदेशमा पाइ आएको पारिश्रमिक, सेवा सुबिधा बाराबर कै अवसरहरु उपलब्ध गराउन पहल हुनेछ। त्यस्तै रोजगारदातासँग समन्वय गर्दै जोड्ने र सरकारी गैर सरकारी अवसरहरुमा रोजगारको प्राथमिकताको लागि पनि आवश्यक पहल हुने बताइएको छ।
खाडी क्षेत्रमा सुझाव र सहायतामा सक्रिय विवेकशील नेपाली
विवेकशील नेपाली दलको प्रवास अन्तराष्ट्रिय समितिले खाडी क्षेत्रमा नेपालीबारे जानकारी लिन थालेको छ। विदेशमा कार्यरत नेपालीहरुको स्थिति, राज्य संयन्त्रले खेलेको भूमिका, समस्या र समाधानमुखी पहलको अवस्थाको बारेमा बुझ्ने र सुझाब दिनको लागि पहल थालिएको विवेकशील नेपालीका नेता एवं प्रवासका सुरेश भट्टले बताए।
अहिलेसम्म कतार, ओमान, युएई, साउदी अरब, बहराईन, कुवेत, इजिप्ट लगायतका देशको राजदुतहरुसँग फोन बार्तामा जानकारी लिनुका साथै सुझाव दिएको विवेकशीलका नेता भट्टले बताएका छन्।
राजदूतावासहरुसँग सम्पर्क गरी संक्रमित नेपाली श्रमिकहरुको उपचार र अप्ठ्यारोमा परेकाहरुको उद्दारमा संयोजनकारी भूमीका विवेकशील नेपाली प्रवास समितिले खेलिरहेको छ। यी देशहरुमा विवेकशीलका प्रवास समितिले श्रमिक नेपालीहरुलाई बन्दाबन्दीका बेला सचेतना र सहायता गरिरहेको दलको दावी छ।