PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

तीन जना संक्रमित देखिएपछि सेनाले गाउँ नै सिल गर्दै



पहिलोपोस्ट

तीन जना संक्रमित देखिएपछि सेनाले गाउँ नै सिल गर्दै

वीरगंज : बुधवार विहान तीन जना नयाँ कोरोना संक्रमितहरु थपिएका छन्। बारामा २ र पर्सामा १ गरी ३ जना थपिएको नारायणी अस्पताल वीरगंजले जनाएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको पीसीआर परिक्षणमा बारा, जितपुर सिमरा उपमहानगरपालिकाका ४३ वर्षीय र बाराको दक्षिणी पूर्वी भेगमा पर्ने सिम्रौनगढ नगरपालिकाका ३१ वर्षीय पुरुषमा कोरोना देखिएको हो। साथै पर्साको वीरगंज-२ छपकैयाका ४६ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको हो।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले तीन जनामा संक्रमण पुष्टि भएको नारायणी अस्पताललाई जानकारी दिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायले जानकारी गराए।

उनका अनुसार थप संक्रमित देखिएलगत्तै बारा-पर्सा प्रशासनले सेनाको सहयोगमा गाउँ सिल गर्ने तयारी गरिरहेको छ। त्यसैले संक्रमितहरुको नगरपालिकाको वडा सार्वजनिक गरिएको छैन।

नयाँ संक्रमितलाई नारायणी अस्पतालको आइसोलेसन वार्डमा ल्याउने तयारी भइरहेको छ।

दिल्लीमा भएको मरकज (धार्मिक सभा) मा सहभागी भएर घर फर्केकाहरुमा संक्रमण देखिएको हो। बारामा भेटिएको कोरोना केस पहिलो केस हो। यसअघि, सर्लाही, रौतहटमा, पर्सामा कोरोना संक्रमण देखिसकेको छ। बुधवार भेटिएका ३ जनासहित अब नारायणी अस्पतालमा पर्साका ३, बाराका २, रौतहटका २ र सर्लाहीका १ गरी ८ जनाको उपचार हुनेछ भने ३ भारतीय र एक रौतहटका १९ वर्षीय युवक गरी ४ जना निको भएर अस्पतालबाट डिस्चार्ज भइसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell