PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

१७ हजार डलर तिरेर बंगलादेशबाट चार्टर फ्लाइट, कान्तिपथकी युवतीलाई आखिर किन ल्याइयो?



वसन्तराज उप्रेती

१७ हजार डलर तिरेर बंगलादेशबाट चार्टर फ्लाइट, कान्तिपथकी युवतीलाई आखिर किन ल्याइयो?

काठमाडौं : देशका चर्चित व्यवसायिक घरानाका सदस्यहरु विदेशबाट नेपाल आउन हारगुहार गरे पनि सकिरहेका छैनन्। आफैँ विमान चार्टर नै गरेर आउँछु भन्दा पनि उनीहरु नेपाल आउन पाइरहेका छैनन्। तर, यसैबीच बुद्ध एयरको चार्टर फ्लाइटबाट एकजना नेपालीलाई बंगलादेशबाट ल्याइएको छ। १७ हजार डलर तिरेर चार्टर फ्लाइटबाट उनलाई किन ल्याइयो?

लकडाउनको अवस्थामा आन्तरिक एवम् वाह्य उडान ठप्प भइरहेको बेलामा प्रश्न उठ्नु स्वभाविक हो। ती यात्रुलाई ढाकासम्म पनि रंगपुरबाट एयर लिफ्ट गरेर ल्याइएको हो। ढाकादेखि रंगपुरसम्मको दुरी ३ सय किलोमिटर टाढा हो।

मंगलवार बिहान ११:०० बजे बुद्ध एयरको एटिआर-४२ जहाज बंगलादेशका लागि उडान गरेको थियो उनलाई लिन।

एक जनाका लागि भनेर चार्टर गरिएको विमानले गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरणको अनुमतिमा लिएर फ्लाइट गरेको थियो।

नेपाल ल्याइएकी काठमाडौंको कान्तिपथकी २१ वर्षीया युवती हुन् जो वंगलादेशमा अध्ययनरत छिन्। एमबीबीएस अध्ययनरत उनीमा ब्लड क्यान्सर भएकाले परिवारले उद्धार गरेको हो एयरलिफ्ट गरेर नै। कान्तिपथका तुलाधर परिवार उनको उद्धारका लागि सक्रिय भएर जुटेको थियो। बंगलादेशबाट सोझै ल्याउनुअघि दुवई हुँदै भए पनि नेपाल ल्याउने तयारी उनको परिवारले गरेको थियो।

बुद्ध एयरले ढाकाबाट ल्याउनुअघि उनलाई त्यहाँसम्म पनि एयरलिफ्ट गरेर ल्याइएको थियो। बंगलादेशमा अध्ययनका लागि गएकी उनमा गम्भीर स्वास्थ्य सम्स्या देखिएपछि परिवारको पहलमा यो उडान भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

तुलाधर परिवारले छोरीलाई थप उपचार स्वदेशमै गराउने उद्देश्यले चार्टर उडानका लागि सबै निकायसँग अनुमति लिएको हो।

मंगलबार साँझ ४:३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएपछि विमानस्थलले विरामी र विरामीको परिवारलाई दुई साताको लागि सेल्फ क्वारेन्टाइनमा बस्ने प्रतिबद्धता गराएको आधारमा पठाइएको अध्यागमन विभागका महानिर्देशक रमेशकुमार केसी*ले जानकारी दिए।

‘चालक दल र दुईजना चिकित्सकको टोलीसहित यो उद्धार उडान गरिएको थियो। उहाँहरुले जहाज अवतरण भएलगत्तै अस्पताल लगिहाल्ने तरिकाले आउनुभएको थियो। विमानस्थलमा परिचालित चिकित्सबाट र्‍यापिड टेस्ट गर्दा परिणाम नेगेटिभ देखिएपछि उहाँहरुलाई पठाएका छौँ,’ अध्यागमन विभागका महानिर्देशक केसीले पहिलोपोस्टसँग भने।

कोरोना संक्रमण तीब्र भएका कारण तोकिएको मापदण्डअनुसार विरामीलाई दुई साता क्वारेन्टाइनमा राख्ने प्रतिवद्धता गराएर तुलाधर परिवारलाई विमानस्थलबाट पठाइएको हो। '१५ दिन सम्म सेल्फ क्वारेन्टाइनमा बस्नका लागि प्रतिवद्धता जनाउनुभएको छ,’ उनले भने।

यस्तै गम्भीर अवस्थामा कुनै व्यक्तिले गृह, परराष्ट्र लगायत सम्वन्धित निकाय अनुमतिको आधारमा आकस्मिक चार्टर उडान गर्ने सक्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

‘यस्तो आपतकालीन अवस्थामा सम्वन्धित निकायको अनुमतिमा विरामी ल्याउन सकिनेछ। हामीले उच्च निकायबाट आएको निर्देशनलाई पालना गर्दै उडान अनुमति दिने हो। यो केस हेर्दा विरामीलाई लङ टर्म औषधी गर्नुपर्ने देखिएको छ,’ प्राधिकरणका एक उच्च अधिकारीले भने।

*(यसअघि महानिर्देशकमा इश्वर पौडेलको नाम पर्न गएकाले सच्याइएको छ। पौडेल यसअघिका महानिर्देशक हुन्। सं.)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell