PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

आफ्नो पक्षका सांसदको हस्ताक्षर गराउँदै प्रधानमन्त्री ओली उत्रिए शक्ति प्रदर्शनमा



कुञ्जरमणि भट्टराई

आफ्नो पक्षका सांसदको हस्ताक्षर गराउँदै प्रधानमन्त्री ओली उत्रिए शक्ति प्रदर्शनमा

काठमाडौं : पार्टीभित्रको अन्तर्कलह चर्किरहेकै बेलामा नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले शक्ति प्रदर्शन थालेका छन्। संसदीय दलमा आफ्नो शक्ति देखाउन आफू निकट सांसदहरुलाई बालुवाटार बोलाएर उनले हस्ताक्षर गराएका हुन्।

बुधवार सांसदहरु बालुवाटार पुगेर हस्ताक्षर गरिरहेको नेकपा काठमाडौं जिल्ला अध्यक्ष एवम् प्रतिनिधिसभा सांसद कृष्ण राईले जानकारी दिए।

उनले भने, 'पार्टीका अर्का अध्यक्षबाट नै प्रधानमन्त्री विरुद् हस्ताक्षर संकलन गराएपछि आफ्नो रक्षाका लागि उहाँले पनि हस्ताक्षर गराउनु भएको हो।'

सांसद राईका अनुसार अहिले सांसदहरु बालुवाटार जानेआउने क्रम जारी छ। दुई दिनअघिमात्रै प्रधानमन्त्री ओलीले आफूलाई हटाउने खेल भइरहेको र त्यसले पार्टी फुट्न समेत सक्ने ब्रिफिङ गरेका थिए। उनले आफूले पार्टी पार्टी नफुटाउने तर अरुले फुटाउन चाहिरहेको दावी गरेका थिए आफू निकट सांसदहरुबीच।

'मलाई प्रधानमन्त्रीबाट हटाउने खेल भइरहेको छ। यो हुनु भनेको पार्टी फुट्नु हो। पार्टी फुटेपछि साढे दुई वर्ष अघि जनाताले दिएको म्यान्डेडको अर्थ रहँदैन। त्यसपछि हामीलाई कसैले पत्याउँदैन ढुक्क रहनुस् म पार्टी फुट्न दिन्न,' त्यो भेटमा रहेका नेकपाका एक अर्का सांसदले भने।

सांसद राईले प्रधानमन्त्रीले अहिले सुरु गरेको हस्ताक्षर अन्य कामका लागि चाहिँ नभएको जिकर पनि गरे।

'बाहिर हल्ला गरेजस्तो प्रधानमन्त्री अल्पमतमा हुनुहुन्न। शीर्ष नेताहरुबाट आफू विरुद्ध हस्ताक्षर भएपछि प्रधानमन्त्रीले आफू सुरक्षित हुनै पर्‍यो नि,' सांसद राईले भने। नेकपाका २० स्थायी समिति सदस्यले स्थायी समिति बैठक बोलाउनुपर्ने मागसहित पार्टीका दुवै अध्यक्षलाई लिखित माग गरिसकेका छन्। त्यसकै प्रतिक्रिया स्वरुप प्रधानमन्त्री ओलीले सांसदहरुको हस्ताक्षर संकलन थालेका हुन्।

राजनीतिक दल र संवैधानिक पदसँग सम्बन्धित दुई अध्यादेश हतारमा ल्याएर विवादमा फसेका प्रधानमन्त्री त्यसयता संकटमा छन्। स्थायी समिति र पार्टी सचिवालयमा पनि अल्पमतमा परेपछि प्रधानमन्त्री ओलीले सांसदहरुको हस्ताक्षरमार्फत् संसदीय दलमा आफू बलियो रहेको संदेश दिन खोजेका हुन्।

आज ५ बजेका लागि नेकपा सचिवालय बैठक डाकिएको छ। त्यसको मूल एजेन्डा नै स्थायी समिति बैठक डाक्नु हो। स्थायी समिति बैठकमा प्रधानमन्त्रीको क्रियाकलापमाथि नेताहरु कडा रुपमा प्रस्तुत हुने अनुमान गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell