PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

धारचुलाबाट नेपाल आउन महाकालीमा होमिए गोपाल, भारतीय पुलिसले बीच नदीबाटै गर्‍यो गिरफ्तार



कमलराज भट्ट

धारचुलाबाट नेपाल आउन महाकालीमा होमिए गोपाल, भारतीय पुलिसले बीच नदीबाटै गर्‍यो गिरफ्तार

काठमाडौं : भारतको पिथौरागढ जिल्लास्थित धारचुलामा एक महिनादेखि क्वारेन्टाइनमा बस्दै आएका एक नेपालीले महाकाली नदी तरेर नेपाल आउन गरेको प्रयास असफल भएको छ।

एक महिनादेखि क्वारेन्टाइनमा बस्दा मानसिक समस्या व्यहोरिरहेका ३८ वर्षीय गोपाल सिंह धामीले आज दिउँसो भारतीय प्रशासनलाई छलेर महाकाली नदीमा हाम्फालेका थिए। नदीमा हाम्फालेर पौडिँदै नेपालतिर आउने प्रयास गर्दा पछ्याउँदै आएको भारतीय सुरक्षाकर्मी टोलीका जवानले उनलाई बीच नदीबाट समातेर लगेका छन्।

गोपालले नदीमा हाम्फाल्दा नेपालको दार्चुला क्षेत्रतिर किनारमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका जवानहरु पनि थिए। नेपाली सुरक्षाकर्मी त्यहाँ हुँदा भारतीय सुरक्षाकर्मी पौडिँदै आएर बीच नदीबाट गोपाललाई समातेर पुन: क्वारेन्टाइनमा लगेको दार्चुलाका पत्रकार भोजराज जोशीले बताए।

उनका अनुसार क्वारेन्टाइनमा बस्दा बस्दै गोपालमा मानसिक समस्या देखिएको छ। उनी आज आफ्ना साथीहरुको सहयोगमा घर जाने भन्दै नदीमा हाम्फालेका थिए।

'धारचुलाको मिनी स्टेडियम क्वारेन्टाइनमा बसिरहेका गोपाललाई महाकालीमा तीन सय मिटर जति बगेको अवस्थामा भारतीय पुलिसले समातेर लग्यो,' घटनास्थलबाट उनले टेलिफोनमा जानकारी दिए, 'क्वारेन्टाइनमा अन्य नेपालीसँग बुझ्दा उनको मनस्थिति बिग्रेको भन्ने बुझियो।'

जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी दीपेन्द्र शाहीले घटनाबारे आफूलाई जानकारी नभएको बताए। त्यसैगरी जिल्ला प्रशासन कार्यालय पनि यो घटनाबारे जानकार छैन। सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरले आजमात्रै माथि व्यास क्षेत्र र तल गरेर दुई समूह महाकाली तरेर वारी आई क्वारेन्टाइन राखेको बताए। तर, महाकाली तर्दै गर्दा गोपाललाई भारतीय प्रहरीले समातेर लगेको घटना जानकारी आइनसकेको बताए।

गोपालको पछिल्लो अवस्थाबारे कुनै जानकारी प्राप्त हुन सकेको छैन। पत्रकार जोशीले गोपाल समातिएसँगै भारतीय क्वारेन्टाइनमा रहेका नेपालीमाथि भारतीय सुरक्षाकर्मीले दुर्व्यवहार गर्ने र यातना दिने खतरा बढेको बताए।

यसअघि बलुवाकोटबाट डडेल्धुराका एक जना नदी तरेर नेपाल आउँदा भारतीय सुरक्षाकर्मीले क्वारेन्टाइनमा बसेका नेपालीमाथि मध्यरातमा कुटपिट गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell