PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

आवरणमा वार्ता र संवाद, भित्रभित्रै हस्ताक्षर अभियानः पूर्व एमालेको अभियानमा को कति पानीमा?



कमलराज भट्ट

आवरणमा वार्ता र संवाद, भित्रभित्रै हस्ताक्षर अभियानः पूर्व एमालेको अभियानमा को कति पानीमा?

काठमाडौं: अध्यादेश प्रकरणले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको विवाद आ-आफ्नो शक्ति देखाउनेसम्म पुगेको छ। आफ्नो शक्ति देखाएर एकले अर्कालाई तर्साउने, देखाउने रणनीति पार्टीको बहुल नेतृत्वले लिएको देखिन्छ।

नेकपामा अहिले मुख्यत: दुई नेतृत्व र साधारण हिसाबले तीन नेतृत्व छन्। देख्नमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समूह सतहमा छ। तर, वास्तविक रुपमा ओली र प्रचण्डसँगै माधवकुमार नेपाल पनि पार्टीमा एक समूहको नेतृत्व हुन्। अहिलेको समीकरणमा उनको नेतृत्व निर्णायक मानिन्छ।

नेपाल अहिले प्रचण्डसँग छन्। यस अर्थमा पार्टीभित्र सामान्य हिसाबले हेर्ने हो भने प्रचण्ड-नेपाल समूहको बहुमत र ओली समूह अल्पमतमा देखिन्छ।

यो समीकरणलाई प्रधानमन्त्रीले ओलीको एकलौटी निर्णयमा भएको अध्यादेश प्रकरणले अझै सशक्त बनाएको छ। प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच यो प्रकरणले दूरीसमेत बढाएको छ। दुवै अध्यक्ष एकले अर्कोलाई देखाइदिने भन्दै सांसदको हस्ताक्षर संकलन अभियानमा उत्रिएका छन्।

अध्यादेश प्रकरणले पार्टी र सरकारको कडा आलोचना भएपछि सुरुमा प्रचण्ड र नेपाल पक्षका २० नेताले सचिवालय र स्थायी कमिटी बैठक बोलाउन हस्ताक्षर बुझाएका थिए। पछि यो समूहले प्रधानमन्त्री ओलीविरुद्ध सांसदको हस्ताक्षर संकलन गर्‍यो। यसको उद्देश्य भने ओलीलाई संसदीय दलबाट हटाउनु थियो। संसदीय दलको नेताबाट हटे ओली प्रधानमन्त्री रहिरहने छैनन्। खासमा प्रचण्ड-नेपाल पक्षको यो हस्ताक्षर अभियान ओलीलाई देखाइदिने अस्त्र थियो। उनीहरुले काठमाडौं बाहिर रहेका सांसदलाई पनि बोलाएर आज पनि हस्ताक्षर संकलन जारी राखेका छन्।

प्रचण्ड-नेपाल समूहले एकातिर सचिवालय र स्थायी कमिटीको बैठक बोलाउन निरन्तर दबाब र अर्कोतिर हस्ताक्षर अभियान चलाएपछि ओली समूह पनि काउन्टरमा उत्रियो।

आज ओली समूहले आफ्नो शक्ति देखाउन बालुवाटारबाटै हस्ताक्षर अभियान चलायो। ओलीनिकट नेकपा सांसद महेश बस्नेतले प्रधानमन्त्रीलाई हटाउने षडयन्त्रका विरुद्ध काउन्टर दिन हस्ताक्षर अभियान चलाएको बताउँछन्। यो हस्ताक्षर अभियान कुनै अप्रिय कदम आइपरे सामना गर्नका लागि रक्षात्मक कवच भएको उनको भनाई छ। ओली समूहसँग बहुमत रहेको उनको दाबी छ।

नेकपाभित्र दुवै समूह खुलेरै हस्ताक्षर अभियानमा उत्रिएका बेला पूर्वमाओवादी समूहका नेता एवं सांसद टोपबहादुर रायमाझी डबल स्ट्याण्ड नदेखाउन नेतृत्वलाई सुझाव दिन्छन्। कुनै पनि समूहको हस्ताक्षर अभियानमा सहभागी नहुने र हस्ताक्षर पनि नगर्ने अडानमा रहेका रायमाझी भन्छन्, 'मैले अहिलेसम्म हस्ताक्षर गर्ने मनस्थिति बनाएको छैन। पार्टी एकताको पहल गर्ने, विभाजनतिर नलैजाने, यसलाई एकताबद्ध गर्ने दिशातिर सोच्नुपर्छ, लाग्नुपर्छ। एकले अर्कालाई निषेध गर्ने, देखाइदिने, विस्थापित गर्नेतिर लाग्नुहुन्न।'

अहिलेको अवस्थामा हस्ताक्षर अभियान चलाउनु विभाजन र निषेधतिर लैजानु रायमाझीको बुझाइ छ।

'मैले अहिलेसम्म हस्ताक्षर गर्ने मनस्थिति बनाएको छैन। पार्टी एकताको पहल गर्ने, विभाजनतिर नलैजाने, यसलाई एकताबद्ध गर्ने दिशातिर सोच्नुपर्छ। लाग्नुपर्छ। एकले अर्कालाई निषेध गर्ने, देखाइदिने, विस्थापित गर्नेतिर लाग्नुहुन्न', रायमाझीले भने।

को कति पानीमा?

हस्ताक्षर अभियानलाई तीव्र बनाएका ओली नेपाल गुटका आ-आफ्नै दावी छन्। ओली समूहले संसदीय दलमा आफ्नो बहुमत रहेको दाबी प्रस्तुत गरेको छ। यता नेपाल पक्ष यसअघि भन्दा सुदृढ अवस्थामा रहेको दावी गर्छ।

ओली निकट केही सांसदहरु ९२ जना सांसदको सुनिश्चितता रहेको बताउँछन्। तर दिउँसो १ बजेसम्म ६३ जनामात्र सदस्यक टंगो भएको एक सदस्यको भनाई छ। तर प्रधानमन्त्री ओली बहुमत पुग्नेमा आश्वस्त छन्। हस्ताक्षरको पहिलो नम्बरमा तिलबहादुर महत क्षेत्रीको नाम छ। सूर्य पाठक, पदम गिरी, महेश बस्नेतलगायतकाे हस्ताक्षर क्रमशः छ। 

उता नेपाल समूहले मंगलबार नै हस्ताक्षार गरेको थियो। जसमा ४७ सांसदल् हस्ताक्षर गरेको दावी छ। तर ४७ मध्येका दुई जनाले ओली समूहमा पनि बुधबार हस्ताक्षर गरेको नेपाल समूहको भनाई छ। दुवै सुदूरपश्चिम प्रदेशका हुन्। 

दुवै पक्षको दावी अनुसार पूर्व माओवादी समूह संसदीय दलमा निर्णायक छ। ५३ सदस्य माओवादीका छन्। जसमा सभामुख अग्नि सापकोटाको भने मताधिकार रहन्न। यतिबेला प्रचण्डले माधव नेपाल समूहलाई साथ दिएकाले ओली अल्पमतमा रहेको बुझाई नेपाल प्रचण्ड समूहको छ। तर ओली समूहले पनि आफूसँग बहुमत रहेको बताउँदै आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell