PahiloPost

Jul 18, 2026 | २ साउन २०८३

लकडाउनका बीच थपिएको दशरथ रंगशालाको रंग...

लकडाउनका बीच थपिएको दशरथ रंगशालाको रंग...

अमित मचामसी/पहिलोपोस्ट


लकडाउन चलिरहेकै छ। २०७२ सालको भूकम्पमा भत्किएको दशरथ रंगशाला गएको मंसिरमा दक्षिण एसियाली खेलकुद (साग)का लागि पुनर्निमाण भएको थियो। रंगशाला बन्न ढिलाइ हुँदा नेपालको ‘होम ग्राउन्ड’मा हुनुपर्ने नेपाल र कुवेत बीचको खेल खेल्न भुटान जानु पर्‍यो।

लगत्तै शुरु हुने सागका लागि भने रंगशाला तयार भयो। त्यतिबेला रंगशालाले राम्रै चर्चा कमायो। सागको उद्घाटन भयो। समापन भयो। 

त्यसपछि शुरु भयो शहीद स्मारक ‘ए’ डिभिजन लिग। लिग चल्दै गर्दै मैदानको अवस्था बिग्रँदै गएको थियो। लिगमा बीचका कतिपय खेलहरु एन्फा कम्प्लेक्सको मैदानमा समेत लैजानु परेको थियो।

लिगको अन्तिम खेल अघिका धेरै खेलहरु दशरथ रंगशालामा खेलाइएन। कारण थियो विश्वकप छनोट अन्तर्गत नेपाल र चाइनिज ताइपेई तथा अस्ट्रेलिया बीचको खेल खेलाउन योग्य मैदान बनाउने।

कुवेतसँग मैदानको अयोग्यताकै कारण खेल खेलाउन नसकेको एन्फा यसपटक सचेत थियो। त्यसैले ‘ए’ डिभिजन लिगका खेलहरु सातदोबाटोमा सारेरै भएपनि मैदानको स्तरोन्नती गर्ने मौका मिल्यो एन्फालाई। अझ ‘बी’ डिभिजन लिगका त सबै खेल सातदोबाटोमै खेलाउने योजनामा थियो एन्फा।

तर, दुर्भाग्यवस विश्वभर कोरोना भाइरसको प्रकोप बढेर गयो। फैलँदो कोरोनासँगै ‘बी’ डिभिजन लिग स्थगित भयो। र, विश्वकप तथा एसिया कप छनोट अन्तर्गत नेपालले खेल्ने खेलहरु पनि स्थगित भए। फेरि अर्को मौका गुम्यो।

त्यसयता नेपालमा लकडाउन शुरु भयो। अरु सबै गतिविधि ठप्प भए। तर, रंगशालाको स्तरोन्नति भने भइरहेको छ। एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले दशरथ रंगशालाको तस्विर र भिडियो शेयर गर्दै रंगशालाको काम नरोकिएको सन्देश दिएका थिए।

रंगशालाको अहिलेको तस्विर हेर्नुहोस् : लाग्छ, रंगशालामा रंग भरिएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell