PahiloPost

Feb 1, 2025 | १९ माघ २०८१

एक महिनापछि नेपाल प्रवेश पाउँदै महाकाली पारिका नेपाली, दार्चुला र बैतडीको सीमाबाट १८ सय स्वदेश फर्किँदै



कमलराज भट्ट

एक महिनापछि नेपाल प्रवेश पाउँदै महाकाली पारिका नेपाली, दार्चुला र बैतडीको सीमाबाट १८ सय स्वदेश फर्किँदै

काठमाडौँः कोरोना भाइरस संक्रमणको सन्त्रास र लकडाउनले एक महिनादेखि भारतको उत्तराखण्ड राज्यस्थित पिथौरागढ जिल्लाका विभिन्न स्थानमा क्वारेन्टाइनमा बसिरहेका नेपाली नागरिकलाई भोलि (बिहीवार) स्वदेश ल्याइने भएको छ।

पिथौरागढको धारचुला, बलुवाकोट, झुलाघाट क्षेत्रका विभिन्न क्वारेन्टाइनमा बसेका करिब १८ सय नेपालीलाई गृह मन्त्रालयको निर्देशनमा भारतीय पक्षसँग समन्वय गरी स्वदेश ल्याउन लागिएको हो।

रोजगारीका लागि भारतका विभिन्न ठाउँमा गएका नेपाली कोरोना भाइरस बढ्दो संक्रमण र लकडाउनपछि घर फर्किन नेपाल-भारत सीमामा आइपुग्दा रोकिएका थिए। घर फर्किन खोज्दा लकडाउनका कारण नेपाल सरकारले सीमा खोल्न नमानेपछि उनीहरुलाई भारतीय पक्षले क्वारेन्टाइनमा राखेको थियो। 

क्वारेन्टाइनमा बसेको एक महिनापछि उनीहरुले आफ्नो भूमिमा प्रवेश पाउन लागेका हुन्।

पिथौरागढसँग सीमा जोडिएको बैतडी जिल्लाका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले भोलि बिहान ७ बजेदेखि झुलाघाट नाकाबाट नेपालीलाई प्रवेश गराइने बताए।

'झुलाघाट नाकाबाट फर्किने नेपालीको संख्या ८ सय ३७ जना रहेको रेकर्डेट डाटा छ। भोलि दिनभरमा भित्र्याउन सकिएला,' सिडिओ पौडेलले भने, 'सुरुमा हेल्प डेस्कमार्फत उनीहरुको रजिष्टर्ड गर्छौँ। सामान्य सोधपुछसहित ज्वरो मापन गरिन्छ। त्यसपछि पालिकास्तरीय क्वारेन्टाइनमा लाने व्यवस्था मिलाइन्छ।'

पौडेलले नेपाली भित्र्याउनका लागि आवश्यक संख्यामा सुरक्षाकर्मी र स्वास्थ्यकर्मी खटाइसकेको जानकारी दिए। 'रेडक्रसको केही स्वयंसेवक पनि परिचालन गरिन्छ। सहायक सिडिओको नेतृत्वमा टोली खटिन्छ। जिल्लाका सम्बन्धित पालिकाका कर्मचारी र केही स्वयंसेवक आउनुभएको छ। उहाँहरुको पनि सहयोग रहन्छ,' उनले भने।

प्रमुख जिल्ला अधिकारी पौडेलले भारतीय पक्षसँग आफूले कुरा गर्दा यो प्रकियालाई सहजीकरण गर्ने, समन्वय गर्ने भन्ने निर्णय भएको बताए।

दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरले दार्चुलाका दुई नाका खलंगा र दत्तुबाट करिब ११ सय नेपालीलाई प्रवेश गराइने बताए।

'संख्या योभन्दा पनि बढी होला। केही मान्छे आफ्नो इष्टमित्रकहाँ होम क्वारेन्टाइनमा पनि बसेका छन्। तिनीहरु पनि भोलि नै आउन सक्छन्,' उनले भने, 'हाम्रो सम्पूर्ण तयारी भइसकेको छ।'

उनका अनुसार एक महिना भारतीय क्वारेन्टाइनमा बसेका नेपालीलाई नेपाल ल्याएर थप १४ दिन क्वारेन्टाइनमा राखिनेछ। दार्चुलामा अढाई सय नेपाली त महाकालीमा पौडी खेलेर तथा ट्युबमा तरेर आइसकेका छन्। उनीहरुमध्ये धेरैलाई महाकाली नगरपालिकाको क्वारेन्टाइनमा राखिएको छ।

बुधवारमात्रै दार्चुलाका गोपालसिंह धामी महाकाली नदीमा पौडिएर नेपाल आउन खोजेका थिए। तर उनलाई बीच नदीबाट भारतीय सुरक्षाकर्मीले पक्राउ गरेर लगेका थिए। नेपालमा लकडाउन हुँदा सुरुका दिनमा नेपालीहरुले स्वदेश फर्किन पाउनुपर्ने माग गर्दै सीमामा नाराबाजी गरेका थिए भने चार दिनसम्म भोकै बस्न बाध्य भएका थिए।

कञ्चपुरलाई छैन अनुमति

दार्चुला र बैतडीबाट नेपालीहरु ल्याउने तयारी भइरहँदा भारतसँग सीमा जोडिएको कञ्चनपुरमा भने कुनै निर्देशन छैन। कञ्चनपुरसँग सीमा जोडिएको बनवसा र टनकपुरमा २५१ जना एक महिनादेखि नै भारतीय क्वारेन्टाइनमा बसिरहेका छन्। उनीहरुलाई गड्डचौकी नाकाबाट नेपाल ल्याउने आन्तरिक तयारी भए पनि केन्द्रबाट निर्देशन छैन।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले नाका खोल्ने आदेश नभएको बताए।

'कञ्चनपुरमा त्यस्तो आदेश छैन। हाम्रो गड्डाचौकी नाका खोल्न गृह मन्त्रालयको आदेश छैन। उतातिर कसरी भयो जानकारी भएन। यहाँ स्वीकृति प्राप्त भएको छैन,' उनले भने, 'हामीले नेपाली फर्काउने विषयमा लेखेरै माथि पठाएको हो। अहिलेसम्म हामीलाई त्यस्तो कुनै निर्देशन आएको छैन।'

रुपन्देही र बाँकेबाट २८२ नेपाली फर्किए

यसअघि नौतनहवाका तीन वटा क्वारेन्टाइनमा २५ दिनदेखि बसेका २ सय ८२ नेपाली गत शुक्रवार घर फर्किएका छन्। उनीहरुमध्ये प्रदेश नम्बर ५ स्थित बाँकेको जमुनाह नाकाबाट १ सय ८१ जना र रुपन्देहीको बेलहिया नाकाबाट १ सय १ जना घर फर्किएका थिए।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले शुक्रवार र शनिवार गरेर २ सय ९८ जना नेपाल प्रवेश गरेको बताए। उनका अनुसार अन्यलाई केही दिनमै फर्काइने तयारी छ। आएकाहरुलाई क्वारेन्टाइन १४ दिन राखेर स्वास्थ्य जाँचपछि मात्र घर पठाइने पन्थले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell