PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

लकडाउनले डेढ महिनादेखि रोकिएको एडिबीको ५ अर्बको परियोजनाले लियो गति



राधेश्याम पटेल

लकडाउनले डेढ महिनादेखि रोकिएको एडिबीको ५ अर्बको परियोजनाले लियो गति

वीरगंज : लकडाउनका कारण डेढ महिनादेखि रोकिएको एसियाली विकास बैंक (एडिबी)को ५ अर्बको परियोजनाका काम शुरु भएको छ। लकडाउनलाई पूर्णपालना गर्दै वीरगंजमा बुधवारबाट कालिका कन्स्ट्रक्सन प्रालिले रोकिएका सडक विस्तार तथा ढल निर्माणका कार्य शुरु गरेकोे हो।

नागरिक समाजको दबाबपछि सामाजिक दुरी कायम गरी वीरगंजमा काम शुरु गरिएको कालिका कन्स्ट्रक्सन प्रालिका परियोजना प्रमुख ठाकुर ढकालले बताए। विकास निर्माणका काम सञ्चालन गर्न वीरगंज महानगरपालिकाको निर्देशन बमोजिम स्थानीय प्रहरी प्रशासनको समन्वयमा काम शुरु गरिएको ढकालले जानकारी दिए।

एडिबीको सहयोगमा मझौला शहरी विकास परियोजना अन्तर्गत झण्डै ५ अर्बको लागतमा विगत ४ वर्षदेखि वीरगंजमा ढल निर्माण, सडक विस्तार, ल्याण्डफिल साइट निर्माण लगायतका कामहरु भइरहेका छन्। वीरगंज महानगरपालिकाको विभिन्न क्षेत्रमा हुँदै आएको आयोजनाका काम लकडाउनको कारण झण्डै डेढ महिना देखि अलपत्र हुँदा आउने वर्षायाममा वीरगंजमा नगरवासीले ठूलो सास्ती बेहोर्नु पर्ने देखिएपछि नागरिक समाजले रोकिएको आयोजनाको काम तत्काल शुरु गर्न दबाब दिएको थियो।

दबाबपछि कालिका कन्स्ट्रक्सनले वीरगंजको बाइपास सडक खण्डको बस पार्क नजिकैको सडक पिच गर्ने काम शुरु गरेको छ। एडिबी परियोजना अन्तर्गत वीरगंजको बाइपास सडक खण्ड, रेल्वे रोड, घण्टाघर बसपार्क जोड्ने लिंक रोड, पिपरा बाइपास लिंक रोड निर्माण कार्य भइरहेको छ। यसलाई वर्षाअघि नै सक्ने गरी लकडाउनको बेलामा समेत सामाजिक दुरी कायम गरी निर्माण कार्य अगाडी बढाइने परियोजना प्रमुख ढकालले बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell