PahiloPost

May 22, 2024 | ९ जेठ २०८१

कोरोनाको इपिसेन्टर बनेको भुल्के : १० जनाको परीक्षण नतिजा कुर्दै, संक्रमित नदेखिएकाको फेरि परीक्षण हुँदै



प्रकाश भण्डारी

कोरोनाको इपिसेन्टर बनेको भुल्के : १० जनाको परीक्षण नतिजा कुर्दै, संक्रमित नदेखिएकाको फेरि परीक्षण हुँदै

काठमाडौं : मंगलवार दिउँसोसम्म संक्रमित ५७ जनामध्ये ३१ जना प्रदेश १ का छन्। सन्चो भएका १६ मध्ये एकजना पनि प्रदेश १ का छैन। उदयपुरको भुल्के नेपालकै हटस्पट बनेको छ। झण्डै आधा संक्रमित (२८ जना) भुल्केमा भेटिए। एउटै बस्तीमा भेटिएका हुन्, उनीहरु। उनीहरुमध्ये १२ जना भारतीय हुन् भने ४ जना विराटनगरका र १२ जना त्यहीँका स्थानीय। संक्रमित सबैको कोशी अञ्चल अस्पालमा उपचार भइरहेको छ। विराटनगराका ४ र भारतका १२ जना भुल्के आएका थिए र लकडाउनले त्यहीँ रोकिए।

पीसीआरको नतिजामा शंका लागेपछि सबैको पुन: परीक्षण

त्रियुगा नगरपालिकाले दिएको जानकारी अनुसार वर्ड न ३ को जनसंख्या ८ हजार ६ सय ३० छ। त्यसमध्ये १५ सय जनसंख्या भुल्के क्षेत्रको हो। त्यहाँका ५७ घरमा २ सय ८६ जना मुस्लिम समुदायका नागरिक बस्छन्। उनीहरु सबैको पीसीआर परीक्षण भइसकेको छ। ती मध्ये १२ जना संक्रमितबाहेक सबैको नतिजा नेगेटिभ छ।

उदयपुर जिल्लाभर ६ सय ५९ को पीसीआर गरिँदा ३ सय ६९ भुल्केका भएको वडा अध्यक्ष अवधेशप्रसाद चौधरीले बताए।

'अहिले हामीले मुस्लिम समुदायको सबैको परीक्षण गरेका छौं। त्यही बस्ती वरिपरिका केही गैर मुस्लिमको पनि गर्‍यौं। उनीहरुको नतिजा नेगेटिभ आएका छ,' उनले भने। ३ सय ६९ जनाकै फेरि परीक्षण गरिने पनि उनले बताए। पीसीआर गरिएकाको फेरि परीक्षण गरिँदा कतिपय जिल्लामा पोजेटिभ आएकाले पुन: परीक्षण गर्न लागिएको चौधरीले बताए।

भुल्के क्षेत्रका सबैको परीक्षण गरिएपछिमात्रै संक्रमण के कति मात्रामा छ भन्ने पत्ता लाग्ने चौधरीले बताए।

'अहिले त भुल्केमा कस्तो संक्रमण छ भन्न सकिने अवस्था छैन। तर, यहाँको १५ सयकै परीक्षण गरिएपछि मात्रै संक्रमण मुस्लिम समुदाय बाहेकमा छ छैन भन्न सकिन्छ,' उनले भने।

स्वास्थ्य सामाग्रीको अभाव

भुल्केका सबै १५ सय जनाको कोरोना परीक्षण गर्न स्वास्थ उपकरणको अभाव भएको प्रमुख जिल्ला अधिकारी दीप कुमार पहाडीले बताए। उनका अनुसार उदयपुरमा १ जनाको पीसीआर परीक्षण गरिँदा १० जनाको आरडीटी गरिएको छ। पीसीआर गर्न प्रयोगशालाको अभाव भएको उनले बताए। सुरक्षा उपरणको समेत अभाव भएकाले नमुना संकलन गर्न कठिन भइरहेको पहाडीको भनाई छ। 'अहिले फेरी सबैको पुन: परीक्षणका लागि सामानहरु मगाएका छौं। अब त्यो आइपुगेपछि सबैको नमुना संकलन गरेर परीक्षण गर्ने हाम्रो तयारी छ,' उनले भने।

एक पटक परीक्षण गर्दा ३ सय ६९ मध्ये २८ जना संक्रमित देखिएका छन्। भुल्केका सबैको फेरि जाँच गरेपछि त्यहाँ लगाइएको निषेध 'सिल' खोलिने पहाडीले जानकारी दिए। भुल्केमा संक्रमितको सम्पर्कमा आएका सबैको परीक्षण भइसकेको पनि उनले जानकारी दिए।

'भुल्के र त्यहाँ वरिपरिका सबैको परीक्षण गरेका छौं। संक्रमितको सम्पर्कमा आएका सबैको फेरि पनि परीक्षण गर्छौं। पहिलो चरणमा गर्दा मुस्लिम बाहेकलाई देखिएको छैन,' उनले भने।

संक्रमित भेटिएको बेलका नगरपालिकाका मेयर दुर्गाकुमार थापाले स्वास्थ्य उपकरणको अभाव भएको बताए। उनले एकातिर विभिन्न निकायको समन्वयको अभाव र अर्कोतिर स्वास्थ्य सामाग्री नहुँदा कोरोना नियन्त्रणमा असर परेको गुनासो गरे।

'केन्द्र सरकारले निर्णयमात्र गर्छ यहाँसम्म कहिले आइपुग्छ त्यसको कुनै पत्तो हुँदैन। अर्कातिर कहाँ कसरी काम गर्ने हो भन्ने कसैलाई पनि राम्रो जानकारी छैन। यो त प्रदेश, स्थानीय र केन्द्र सरकारको कुरा हो। स्थानीय सरकारलाई मात्रै भनेर हुन्छ?,' उनले भने।

१० नमुनाको नतिजा कुर्दै भुल्के

भुल्केका ३ सय ६९ को नमुना पीसीआर मार्फत् परीक्षण भइसकेको छ। तर, ३० जना संक्रमितको मंगलवार मात्रै नतिजा संकलन गरिएको छ। जसको जाँच गरिँदैछ। त्यसमा पनि १० जना मुस्लिम बस्तीका बालबालिका हुन्। २० जना त्यही बस्ती आसपासका ब्राह्मण क्षेत्रीको पनि नमुना लिइएको छ।

किन छुटे त ३० जना? वडा अध्यक्ष चौधरीका अनुसार वरिपरिकालाई अहिले आवश्यक देखिएर परीक्षण गर्न थालिएको र बालबालिका पहिला गणनामै छुटेकाले नमुना संकलन समयमै हुन नसकेको हो

मुस्लिम समुदायका १० बालबालिकामा आशंका गरेरै परीक्षणका लागि पठाएकाले उनीहरुलाई संक्रमण भएको पनि हुनसक्ने चौधरीले बताए।

'हामीहरु खासगरी १० जना बालबालिकाको नतिजा कुरिरहेका छौं। उनीहरु संक्रमितकै बालबालिका भएकाले पनि कतै संक्रमण त छैन भन्ने आशंका छ,' उनले भने।

भुल्के नियन्त्रणमा छ

प्रमुख जिल्ला अधिकारी पहाडीले भुल्केको संक्रमण नियन्त्रणभित्रै रहेको दावी गरे। उनले संक्रमितहरु बाहिरबाट आएर धेरै ठाँउमा घुमेको देखिए पनि संक्रमण भेटिएपछि स्थानीय प्रशासनको पहलमा कोरोना भाइरस फैलनबाट रोकेको दाबी गरे।

'त्यहाँका सबैको गरिसकिएकाले अब खतरा केही कम होला। हामी संक्रमण रोक्न सकिनेमा आशावादी छौं,' उनले भने।

वडा अध्यक्ष चौधरी पनि अब रोग नियन्त्रण हुनेमा आशावादी छन्। भुल्केका सबै जनाको परीक्षण भएकाले आफ्नो वडाको संक्रमण अन्यत्र नभेटिए संक्रमण रोक्न सफल भएको ठानिने उनको तर्क छ। उनी मुस्लिम बस्ती वरिपरिका किराना र औषधी पसललेको कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आउनुलाई पनि अरु समुदायमा संक्रमण नफैलिएको आधार मान्छन्।

कसरी भित्रियो संक्रमण?

सरकारले चैत ११ गते लकडाउनको घोषणा गर्‍यो। त्यसअघि नै मधेशका विभिन्न ५ वटा जिल्ला घुमेका १६ जना नुरी मस्जिदमा पुग्दा लकडाउनमा परेका थिए। उनीहरुको कन्ट्याक्ट ट्रेसिङ गर्दा धार्मिक पर्वदेखि बिबाहमा समेत सहभागी भएको देखियो। चार महिना अघि नै नेपाल आएका उनीहरुमध्ये पहिलोपटक १२ जनामा वैशाख ५ गते कोरोना संक्रमण देखियो। त्यसपछि पटक पटक गरी भुल्केमा २८ जना संक्रमित भेटिए। चार महिनाको बीचमा उनीहरु भारत गए नगएको अझै पुष्टि भएको छैन। तर, संक्रमितहरुले ४ महिनामा भारत पनि नगएको र भारतबाट आएका कसैसँग पनि भेट नभएको बताएको प्रमुख जिल्ला अधिकारी पहाडीले जानकारी दिए।

संक्रमितहरु सप्तरीमा फागुन ३ देखि ५ गतेसम्म थिए। त्यहाँ भारतबाट पनि केही मानिसहरु सहभागी भएको जानकारी भए पनि पुष्टी गर्न नसकिएको सिडिओ पहाडीले बताए।

त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीसँग संक्रमण पुष्टि भएको १२ दिनसम्म पनि प्रष्ट जवाफ छैन। 'हामीले कन्ट्याक्ट ट्रेसिङ गरिरहेका छौं। तर, कसरी संक्रमण भित्रियो भन्ने यकिन कुरा भेटाएका छैनौं।'

संक्रमितको भारतसँगको सम्पर्क या टोलमा विदेशबाट आएकालाई कारण मान्न सकिने तर्क गरे पनि त्यसका लागि आधार उनीसँग छैन। फागुनको अन्तिमतिर साउदी अरवबाट भुल्के आएकालाई संक्रमण देखिएको थियो। अर्का एक जना चैतको सुरुवातमा भारतबाट आएका थिए। उनमा पनि कोरोना संक्रमण पुष्टि भइसकेको छ। यसलाई पनि आधार मानेर अध्ययन भइरहेको मेयर चौधरीले बताए।

संक्रमण रोक्न घर घरमा खाद्यन्न

संक्रमण अन्यत्र नफैलियोस् भनेर यतिखेर भुल्केलाई सिल गरिएको छ। एक घरबाट अर्को घर जान तथा घर बाहिर निस्कन टोलका सबैलाई प्रतिवन्ध लगाइएको छ। एक पटक परीक्षण गरिएको भए पनि ढुक्क हुने अवस्था नरहेकाले सिल कायमै राखिएको पहाडीले बताए।

मुस्लिम बस्तीमा अति आवश्यक सामानको ब्यवस्था नगरपालिकाले पुर्‍याइरहेको छ। वडा कार्यालयकै पहलमा घर घरमै जे चाहिन्छ त्यही सामान पुर्‍याइरहेको वडा अध्यक्ष चौधरीले बताए।

'अहिले हामीले पैसा पछि लिने सहमतिमा ब्यापारीसँग मिलेर उनीहरुलाई सामान दिइरहेका छौं। उनीहरुलाई बाहिर आउन पनि दिएका छैनौं,' उनले भने। बाहिरबाट सामान ल्याएर यो बस्तीमा पुर्‍याउनु चाहिँ एकदमै चुनौती भएको चौधरीले बताए।

सम्बन्धित समाचार:

उदयपुरमा देखिएका १२ जना कोरोना संक्रमित घुमेका थिए पाँच जिल्ला : विवाहदेखि धार्मिक पर्वमा सहभागी, 'आरडीटीको नतिजा लुकाइयो' 

उदयपुरमा भेटिएका १३ जना संक्रमितले कसकसलाई भेटे? ट्रेसिङमै भयो समस्या

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell