काठमाडौं : लकडाउनको कडा कार्यान्वयन गर्न केन्द्र सरकारले जति निर्देशन दिए पनि स्थानीय सरकारले टेरपुच्छर लगाएका छैनन्। काठमाडौंको देखावटी लकडाउनको कडाईलाई गाउँगाउँका स्थानीय सरकारले निस्तेज बनाइरहेका छन्।
विभिन्न जिल्लाबाट काठमाडौं भित्रिनेलाई कडाई गरे पनि काठमाडौंबाट बाहिर जानेलाई भने मनपरी पाराले ओसारपरास निषेध छैन। पछिल्लो उदाहरण बन्यो, सिन्धपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका।
गाउँपालिकाका सबै वडाअध्यक्ष एकैसाथ बुधवार काठमाडौंमा रहेका आफ्ना नागरिकलाई खबर गरेर लिन नै आए। गोकर्णेश्वर ७ मा रहेको शिवचोक बुधवार मध्यान्नदेखि नै भिड लाग्न सुरु भइसकेको थियो। घर फर्किनका लागि मानिसको भिड लाग्नु स्वभाविक थियो किनकि गाउँगाउँका सिंहदरबारबाट उनीहरुका नेता नै आइपुगेका थिए। १४ वटा बस रिजर्भ गरेर वडा अध्यक्षहरु घाँटीमा कार्ड भिरेर शिवचोकमा भेला भएका थिए। शिवचोकमा सिन्धुपाल्चोकको मेलम्ची बेल्टतिर जानेको बस पार्क नै छ। त्यही मानिसहरुको भिँड लागेको हो।
सधैं सुनसान रहने ठाउँमा एकाएक मानिसको भिडभाड देखेपछि प्रहरीले उनीहरुलाई रोक्यो।
मास्क, स्यानिटाइजर लगायत संक्रमणबाट जोगिनका लागि बस्दबस्तीका साथ आएका उनीहरुलाई प्रहरीले जान दिएनन्। दिउन पनि किन? मंगलवारदेखि गृह मन्त्रालयले उपत्यकाबाहिर जाने र भित्रिने दुवैलाई कडाइ गर्न निर्देशन दिएको थियो।
दिउँसो ३ बजेदेखि ९ बजेसम्म प्रहरी र जनप्रतिनिधिसँग जुहारी चलिरह्यो। उनीहरु आफू जनप्रतिनिधि भएकाले सुरक्षित लैजान पाउने तर्क गर्दै थिए। तर, प्रहरी भने माथिको आदेश भन्दै उनीहरुलाई जान नमिल्ने बताउँदै थिए। मानिसको भिड उपस्थित प्रहरीको संख्या भन्दा धेरै भएकाले सम्हाल्न हम्मेहम्मे परिरहेको थियो।
प्रहरीले माथिको आदेश नआइ जान नदिने भएपछि जनप्रतिनिधिले विभिन्न निकायमा फोन लगाउन थाले। गृह मन्त्रालयको स्वीकृतिमा मात्र जान दिने भनेपछि गृह मन्त्रालयसम्म फोन पुग्यो। राति भएपछि गृह मन्त्रालयले स्वीकृति दियो।
राति १० बजे १४ वटा बस सिन्धुपाल्चोकको लागि छुट्यो।
'गृहसम्म फोन लगाएर मिलाएपछि राति जान दिए। १४ वटा बसमा ७ सय मानिस ल्याएका छौं,' पाँचपोखरी थाङपाल गाउँपालिका ७ का वडाध्यक्ष सार्की तामाङले भने।
१४ वटा बसमध्ये १३ वटा बसका मानिस बिहान ७ बजेसम्म गन्तब्यमा पुगिसकेका छन्। एउटा बस भने बाटोमै रहेको वडाअध्यक्ष सार्कीले बताए। 'अब मानिस लिन आउन्नौं। बरु त्यहीँ बस्ने खाने व्यवस्था मिलाउँछौं,' सार्कीले भने।
तर, महानगरीय प्रहरी वृत्त बौद्धका डिएसपी नवीन कार्कीले भने उनीहरु बसमा घर गएको थाहा नभएको बताए। दिउँसोदेखि नै शिवचोकमा मानिसको भिडलाई पन्छाउन उत्रिएका उनले पहिलोपोस्टसँग भने, 'हामीले घर घर जान भनेर फर्काएका थियौं।'