
कोरोना भाइरसका कारण यस वर्षको प्रथम त्रैमासिकमा अमेरिकाको आर्थिक वृद्धि तीव्र रुपमा ओरालो लागेको छ। कोभिड-१९ संक्रमण रोकथाम र नियन्त्रणका लागि लकडाउन लागू गरेसँगै अमेरिकाको अर्थतन्त्रमा ४.८ प्रतिशत् वार्षिक दरले गिरावट आएको हो।
सन् २००७ देखि २००९ सम्मको आर्थिक मन्दीपछि अमेरिकाको अर्थव्यवस्थामा यति ठूलो गिरावट आएको हो।
फेडेरल रिजर्भका प्रमुख जेरोम एच पावेलले आगामी दिनमा अमेरिकाको अर्थतन्त्र झन् कमजोर हुने बताएका छन्। लकडाउनका कारण ठप्प बजार, व्यवसायलाई उनलाई प्रमुख कारक मानेका छन्। वासिङटन पोस्टसँगको कुराकानीमा उनले भनेका छन्, 'एक पछि अर्को मानिसले रोजगार गुमाउनु पीडादायी कुरा हो। यसको प्रत्यक्ष प्रभाव गरिबहरुलाई पर्छ।'
पहिलो त्रैमासिकमा त्यहाँको घरेलु खर्चमा ७.६ प्रतिशतले गिरावट आएको छ भने व्यापार लगानी ८.६ प्रतिशत खस्किएको छ। झण्डै दुई करोड ६० लाख मानिसले रोजगार गुमाएका छन्। बिहीवारसम्ममा उक्त संख्यामा वृद्धि हुने समेत जनाइएको छ।
पावेलले यस अवस्थाको प्रभाव दीर्घकालीन हुनसक्ने बताएका छन्।
अमेरिकालाई सन् १९३० दशकको 'द ग्रेट डिप्रेसन'बाट बाहिर निस्कन करिब एक दशक लागेको थियो। त्यस्तै सन् २००७ को आर्थिक मन्दीबाट उक्लन तीन वर्ष लागेको थियो। विश्लेषकहरुले भनेका छन् – अमेरिकी सरकारले निकै ढिला 'एक्सन' लियो। अब त्यही गल्ती दोहोर्याउनु हुन्न।