
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले आफूलाई पुन: राष्ट्रपति भएको हेर्न नचाहने बताएका छन्। उनले बुधवार रोयटर्ससँगको अन्तर्वातामा भनेका छन्, 'मलाई फेरि राष्ट्रपति हुन नदिन चीनले जे पनि गर्न सक्छ।'
ट्रम्पले श्रृङ्खलावद्ध रुपमा चीनविरुद्ध आरोप लगाइरहेका छन्। चीनले कोरोना संक्रमणबारे आधिकारिक तथ्याङ्क लुकाएको आरोप र चीनमा संक्रमण कसरी फेलियो भन्नेबारे अन्तर्राष्ट्रिय अनुसन्धान उनको माग रहेको छ। विश्व स्वास्थ्य संगठनलाई त चीन परस्त भएको भन्दै अमेरिकाले उपलब्ध गराउँदै आएको आर्थिक सहयोगमा समेत रोक लगाएका छन्।
अन्तर्वार्तामा भनेका छन्,'चीनले यस माहामारीको बारेमा विश्वलाई केही अघि नै थाहा दिनु पर्थ्यो।'
उनले बेइजिङलाई असर पर्ने भन्दै पटकपटक तर्क राख्दै आएका छन्। तर, चीनविरुद्ध के गर्दैछन्? भन्नेबारे प्रष्ट जानकारी दिएका छैनन्।
यतिबेला ट्रम्पलाई आगामी राष्ट्रपति चुनावको पिरलो सुरु भइसकेको छ। चीनले जोय बिडन राष्ट्रपति भएको हेर्न चाहने उनको दावी छ।
ट्रम्पले कोरोना भाइरस संक्रमणको असर चीनलाई भारी पर्ने बताउँदै गर्दा अमेरिकामा संक्रमित र संक्रमणका कारण मर्नेको संख्यामा कमी आएको छैन। हालसम्म त्यहाँ १० लाख ३९ हजार ९ सय ९ जनामा संक्रमण पुष्टि भइसकेको छ। जोन होप्किन्स विश्वविद्यालयका अनुसार संक्रमणकै कारण ६० हजारभन्दा बढी पुगेको छ।
कोरोना भाइरस संक्रमण र लकडाउनको प्रभाव, यस वर्षको पहिलो त्रैमासिकमा अमेरिकाको अर्थतन्त्रमा ४.८ प्रतिशत् वार्षिक दरले गिरावट आएको हो।