
काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य एवं सांसद टोपबहादुर रायमाझीले दोहोरो चरित्र नदेखाउन नेतृत्वलाई सुझाव दिएका छन्। एकातिर पार्टी बैठकको कुरा गर्ने र अर्कोतिर हस्ताक्षरमा उत्रिँदा एकतामा असर पर्ने भन्दै एकताबद्ध गर्ने दिशातिर सोच्न आग्रह गरेका छन्।
नेकपाभित्र प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्षकमल दाहाल तथा माधव नेपाल समूह आफ्नो पक्षमा बहुमत देखाउन खुलेरै हस्ताक्षर अभियानमा उत्रिएका बेला पूर्वमाओवादी समूहका नेता रायमाझीले डबल स्ट्याण्ड नदेखाउन नेतृत्वलाई सुझाव दिएका हुन्।
कुनै पनि समूहको हस्ताक्षर अभियानमा सहभागी नहुने र हस्ताक्षर पनि नगर्ने अडानमा रहेका रायमाझी भन्छन्, 'मैले अहिलेसम्म हस्ताक्षर गर्ने मनस्थिति बनाएको छैन। पार्टी एकताको पहल गर्ने, विभाजनतिर नलैजाने, यसलाई एकताबद्ध गर्ने दिशातिर सोच्नुपर्छ, लाग्नुपर्छ। एकले अर्कालाई निषेध गर्ने, देखाइदिने, विस्थापित गर्नेतिर लाग्नुहुन्न।'
रायमाझीसँग गरिएको कुराकानीको सारसंक्षेप
अहिलेको अवस्थामा हस्ताक्षर अभियान नगर्दा राम्रो हुन्छ भन्ने मेरो धारणा हो। यसले विभाजन तथा प्रतिस्पर्धा र निषेधतिर लाने हुन्छ। सहकार्य गरेर जानुपर्ने बेला, पार्टी एकताको काम पनि पुरा भएको छैन। अधिवेशन भएको छैन। अहिले फेरि हस्ताक्षर गरेर एकले अर्कालाई निधेष गरेर जानाले पार्टी एकता सुदृढ गर्न सक्दैनौं। पार्टीलाई एकीकृत गर्न गाह्रो हुन्छ। विभाजनको रेखा कोरिन्छ। त्यसकारण त्यो गर्दा राम्रो हुन्न। जताबाट गरे पनि राम्रो होइन। विभाजनतिर लान्छ। यसो नगर्दा राम्रो हुन्छ भन्ने मेरो सुझाव हो।
मैले अहिलेसम्म हस्ताक्षर गर्ने मनस्थिति बनाएको छैन। पार्टी एकताको पहल गर्ने, विभाजनतिर नलैजाने, यसलाई एकताबद्ध गर्ने दिशातिर सोच्नुपर्छ। लाग्नुपर्छ। एकले अर्कालाई निषेध गर्ने, देखाइदिने, विस्थापित गर्नेतिर लाग्नुहुन्न।
यो अवस्था कसरी सिर्जित भयो भन्नेतिर म टिप्पणी गर्न चाहन्न। विभिन्न कारणले भयो होला।
अहिले एकले अर्कालाई दोष लगाउने भन्दा पनि पार्टीभित्रै बसेर दुबै पक्षले एकले अर्कालाई भन्ने कुरा राखेर निकास खोज्नुपर्छ। बैठक बसेर छलफल गर्नुपर्यो।
एकातिर सचिवालय बैठक बोलाउने, अर्कोतिर यसरी क्याम्पेन गर्ने? यसो गर्नुहुन्न। दबाएजस्तो गर्नुहुन्न।
उता स्थायी कमिटी बैठक माग गरिएको छ। यता सिग्नेचर पनि गर्दै हिँड्ने? यस्तो डबल स्ट्यान्ड पनि गर्नुहुन्न भन्ने मेरो मान्यता हो। अब नेतृत्वले साथीहरुले कसरी बुझ्नुहुन्छ त्यो उहाँहरुको कुरा हो।
अहिले मलाई तलबाट पार्टी एकता बचाउनुपर्यो। कित्ताबन्दी हुनुभएन, तपाइले पार्टी एकताका लागि जे पहल गर्नुभयो त्यसका लागि धन्यवाद भनेर ननस्टप फोन आइरहेको छ। एकता बचाउन पछाडि नहट्नुस् भनिरहेका छन्।
अहिलेसम्म मलाई कुनै पक्षबाट हस्ताक्षरका लागि भनिएको छैन। हस्ताक्षर भइरहेको छ कि छैन भन्ने पनि जानकारी छैन। म पार्टी एकताविपरित हस्ताक्षर गर्ने पक्षमा छैन।