PahiloPost

Feb 1, 2025 | १९ माघ २०८१

महाकाली पुलको ताल्चा खुल्यो, एक महिना भारतीय क्वारेन्टाइनमा रहेका नेपाली स्वदेश फर्केपछि पनि क्वारेन्टाइनमै

महाकाली पुलको ताल्चा खुल्यो, एक महिना भारतीय क्वारेन्टाइनमा रहेका नेपाली स्वदेश फर्केपछि पनि क्वारेन्टाइनमै

कमलराज भट्ट/पहिलोपोस्ट


काठमाडौं : कोरोना भाइरसको संक्रमण फैलिएसँगै सीमा नाकाबाट प्रवेश गर्न निषेध गरेका कारण एक महिनादेखि भारतीय क्वारेन्टाइनमा रहेका नेपालीहरु घर फर्कन थालेका छन्।

भारतको उत्तराखण्ड राज्यस्थित पिथौरागढ जिल्लाको धारचुला, बलुवाकोट, झुलाघाट क्षेत्रमा रहेका क्वारेन्टाइनमा रहेका करिब १ हजार ८ सय नेपालीलाई आज बिहान ९ बजेदेखि बैतडी र दार्चुलाका तीन वटा सीमा नाकाबाट स्वदेश फर्काउन थालिएको हो।

दार्चुलाको खलंगा र दत्तु नाकाबाट नेपाल प्रवेश गर्ने सबैको विवरण संकलन गरी ज्वरो परीक्षण गरेर नेपाल भित्र्याइएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए। आएका नेपालीलाई २५ जनाको समूहमा पालिकाको क्वारेन्टाइनमा पठाउने व्यवस्था मिलाइएको उनले जानकारी दिए। दार्चुलाका दुई नाकाबाट करिब १ हजार नागरिकलाई भित्र्याइने दार्चुला प्रशासनको तयारी छ।

त्यसैगरी बैतडीको झुलाघाट नाकाबाट ८ सय ३७ जनालाई भित्र्याइँदै छ। बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले भारतमा रहेका नेपालीलाई बिहानैदेखि स्वदेश फर्काउने काम भइरहेको बताए। झुलाघाट पुलमा भारतीय पक्षसँगको समन्वयमा हेल्प डेस्कमार्फत रजिष्टर्ड गरेर सामान्य सोधपुछसहित ज्वरो परीक्षण गरेर उनीहरुलाई पालिकास्तरीय क्वारेन्टाइनमा लगिने व्यवस्था मिलाइएको उनले बताए।

एक महिनापछि मातृभूमि टेक्न पाएका नेपालीले फेरि १४ दिन देशको क्वारेन्टाइनमा बस्नुपर्नेछ। त्यसपछिमात्रै आफ्नो घर जान पाउनेछन्।

दार्चुलामा रहेका पत्रकार भोजराज जोशीले खलंगा नाकाबाट नेपालीहरुको छैठौं समूह प्रवेशको क्रममा रहेको बताए। 'सीमा पुलबाट एक एक जना गरेर ज्वरो नाप्दै, आफ्नो विवरण टिपाउँदै आइरहेका छन्। २५ जनाको समूहमा क्वारेन्टाइनमा पठाउने काम भइरहेको छ,' उनले भने।

तीन वटै सीमामा रेडक्रस र स्थानीय तहका स्वयंसेवक खटाइएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell