
बलिउडका भेट्रान अभिनेता ऋषि कपूरको क्यान्सरबाट ६७ वर्षको उमेरमा बिहीवार निधन भएको छ। बबी फिल्मबाट बलिउडमा उदाएका कपुरको एचएन रिलायन्स अस्पतालमा उपचारका क्रममा निधन भएको हो।
ऋषिको निधनसँगै उनको करियरलाई उचाईंमा पुर्याएको फिल्म बबीसँग जोडिएका विभिन्न किस्सा सार्वजनिक भइरहेका छन्। जसमा एउटा तत्कालीन राजनीतिक घटनाक्रमसँग पनि सम्बन्धित छ।
सन् १९७३ मा प्रदर्शनमा आएको यो फिल्ममा ऋषि कपूर र डिम्पल कपाडिया (पछि राजेश खन्नाकी श्रीमती)को मूख्य भूमिका थियो। यो फिल्म शोलेपछि ७० को दशकमा सबैभन्दा धेरै कमाउने सुपरहिट फिल्म थियो।
बबीबाटै बलिउडमा रोमान्सको सुरुवात भएको मानिन्छ। ऋषिलाई रोमान्सका राजा पनि भन्ने गरिन्छ।
कलाकार गजेन्द्र चौहानको विश्लेषणमा यो फिल्मले विभिन्न फेसन ट्रेण्ड दियो। भारतमा मोटरसाइकल, हेयर स्टाइल, कपडाको स्टाइल, महिलाको ड्रेस स्टाइल, रोमान्सलगायत कुरा फिल्मले स्थापित गर्यो।
साथै फिल्मले धनी/गरिब चरित्र पनि स्थापित गर्यो। ख्वाजा अहमद अब्बासले लेखेको फिल्मले धनी घरको केटाको गरिब घरकी युवतीसँग रोमान्स कथा बोलेको छ। बलिउडमा पहिलोपटक यस्तो कथाको सुरुवात भएको थियो।
ऋषि कपूरको बायोग्राफीमा उल्लेख भएअनुसार बबी फिल्मका लागि उनलाई फिल्म फेयरमा वेस्ट एक्टरको अवार्ड मिलेको थियो।
एबीपी न्युजका प्रस्तोता दिबाङ्गले बताएअनुसार ऋषिको फिल्म बबीसँग नयाँदिल्ली राजनीतिक घटनाक्रम समेत जोडिएको छ।
सन् १९७५ देखि ७७ सम्म २१ महिनाका लागि तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले भारतमा संकटकाल लगाएकी थिइन्। संकटका बेला स्वतन्त्रताको माग गर्दै समाजवादी नेता जयप्रकाश नारायण लगायत नेताहरु आन्दोलनमा थिए।
त्यहीँ बेला जयप्रकाश नारायणको आन्दोलनरत समूहले दिल्लीको रामलीला मैदानमा र्याली निकाल्ने निर्णय गर्यो। र्याली निकाल्ने दिन तय भएपछि त्यसलाई भाड्न इन्दिराले बबी फिल्म देखाउन लगाएकी थिइन्।
'जब संकटकाल लागेको थियो। जयप्रकाश नारायणको रामलीला मैदानमा ठूलो र्याली हुनेवाला थियो। इन्दिरा गान्धीले त्यस समयमा दुरदर्शन टेलिभिजनमा बबी फिल्म देखाएकी थिइन्। किनकि मानिसहरु घरमै बसेर बबी फिल्म हेरुन्। रामलीला मैदानमा प्रदर्शनमा नजाउन्,' दिबाङ्गले भनेका छन्, 'तर इन्दिराले सोचेजस्तो भएन। संकटकालमा पनि मानिसहरु र्यालीमा गए।'