
काठमाडौं : उत्तर कोरियाले सर्वोच्च नेता किम जोङ उनको स्वास्थ्य अवस्थाका बारेमा चलेको दुई साता लामो हल्लालाई चिर्दै नेता किमको निर्देशन सार्वजनिक गरेको छ। उत्तर कोरियाले किमले हस्ताक्षर गरेको निर्देशन सार्वजनिक गर्दै मौनतालाई चिरेको डेली एनकेले जनाएको छ।सामान्य अवस्थामा किमले पार्टीका प्रान्तिय कमिटी र सरकारका निकायहरुलाई यस्ता निर्देशन हरेक बुधवार वा बिहीवार दिँदै आएका थिए।
अघिल्ला निर्देशनहरुमा सामान्य रुपमा १० बुदेँ सम्मको निर्देशन जारी गर्ने उनले यसपटक तीन बुँदे निर्देशन जारी गरेका हुन्। यसपटकको निर्देशन अघिल्ला निर्देशन भन्दा फरक भएको बताइएको छ।
यसअघि अप्रिल ९ मा उनले पछिल्लो निर्देशन सार्वजनिक गरेका थिए। त्यतिबेला पनि १० वटा निर्देशन थिए।
अप्रिल २९ मा सार्वजनिक भएको निर्देशन यसअघि भन्दा विस्तृत खालको छ। निर्देशनमा उनले प्योङयाङ जनरल अस्पतालन निर्माणलाई राज्यले सहयोग गरिहेको जोड दिँदै सैनिक तथा सर्वसाधरण जनताका गतिविधिलाई हौसला प्रदान गरेका छन्। त्यस्तै उनले यसपटकको निर्देशनमा देशका किसानहरुलाई समयमै बीऊ उपलब्ध गराउन निर्देशनसमेत दिएका छन्।
यसअघिका निर्देशनहरु किमले मौखिक रुपमा निर्देशन दिएजस्तै छोटा हुन्थे भने यसपटक त्यस्तो भएन। यसपटक उनको निर्देशनमा उल्लेख बुँदाहरु सरकारी निकायले प्रस्ताव गरे अनुरुप नभएको समाचारमा उल्लेख छ।
'उत्तर कोरियामा कसैलाई पनि किकको वक्तव्यको विषयमा बोल्न छुट छैन। किन उनको निर्देशन यसपटक पहिले भन्दा फरक आयो भनेर चर्चा गर्न पनि रोक छ,' उत्तर कोरियाका एक पूर्व सरकारी अधिकारीले डेली एनकेलाई भनेका छन्,'यदि किमले यसबीच आफ्नो जिम्मेवारीबाट हात झिकेको भए हामीले विभिन्न क्षेत्र तथा सरकारी काममा अन्तर महसुस गरेका हुने थियौं।'
यता उत्तर कोरियामा अहिले अन्तर्राष्ट्रिय मिडियामा आएका किम जोङ उनको मृत्युसम्बन्धी हल्लाहरु चलिरहेका छन्। त्यस्तै किमको मृत्यु भएको भन्ने उल्लेख गरिएको भिडियो उत्तर कोरियामा भाइरल भइरहेको डेली एनकेले जनाएको छ।
भिडियो उत्तर कोरियाको सरकारी टिभी कोरियन सेन्ट्रल टिभीमा प्रसारित जस्तै देखाइएको छ। यो भिडियो चीनबाट उत्तर कोरिया प्रवेश गरेको बताइएको छ। भिडियोमा एक क्षेत्रको अनुगमनका क्रममा किमको मृत्यु भएको दाबी गरिएको छ।
भिडियामा लेखिएको क्याप्सनमा भनिएको छ - हाम्रा प्रिय सर्वोच्च नेता किम जोङ उनको निधन भयो। भिडियोमा किम कुसुसानमा रहेको दरबारको अनुगमन गरिरहेको र उनको साथमा किमकी बहिनी किम यो जङ र अन्य अधिकारीहरु देखाइएको छ। भिडियो अप्रिल २५ मा लिइएको दाबी गरिएको छ।
भिडियोमा किम जोङ इलको स्मृति सभाका दृश्यहरुसमेत समावेश गरिएका छन्।
अप्रिल ११ मा भएको त्यहाँको सत्तारुढ दल वर्कस् पार्टीको पोलिटब्यूरो बैठकमा सहभागी भएपछि उत्तर कोरियाली नेता किम सार्वजनिक रुपमा देखिएका छैनन्। अन्तर्राष्ट्रिय मिडियाहरुले किमको स्वास्थ्यबारेमा अनेक चर्चा गरेका छन्।
यता दक्षिण कोरियाले भने उत्तरमा किमको मृत्यु हल्ला मात्र भएको बताउँदै आएको छ। बुधवारमात्र दक्षिण कोरियाको सैन्य तथा गुप्तचर अधिकारीहरुले उत्तर कोरियाको राज्य सञ्चालन अझै पनि किमले नै गरिरहेको बताएका छन्।
त्यहाँको संसदको रक्षा समितिमा दक्षिण कोरियाली सेनाका अधिकारी तथा गुप्तचर निकायका अधिकारीहरुले उत्तर कोरियामा किमले देश सामान्य अवस्थामा जस्तै चलाइरहेको बताएको दक्षिण कोरियाको समाचर एजेन्सी योन्हापले जनाएको छ।
यता दक्षिण कोरियाको संसदको विज्ञ टोलीले किमको अनुपस्थितिमा उनकी बहिनी किम यो जोङले उत्तर कोरियाको सत्ता समाल्ने निष्कर्ष निकालेको छ। उत्तर कोरियाको पछिल्लो सर्वोच्च जनकंग्रेसको बैठकको समीक्षा गर्दै दक्षिण कोरियाको राष्ट्रिय सभाको अनुसन्धान सेवाले यस्तो निष्कर्ष निकालेको योन्हापले जनाएको छ।
उसले बहिनी किम यो जोङलाई पार्टीको पोलिटब्यूरोमा बढुवा गर्नुलाई उत्तर कोरियाको शासनको जग बसालेको विश्लेषण गरेको छ। 'यसले उनको (बहिनी) भूमिका आधिकारिक उत्तराधिकारीको रुपमा बढाइएको छ,' रिपोर्टमा उल्लेख छ।
रिपोर्टमा यो जोङ उत्तराधिकारी भए पनि यसले औपचारिकता नपाइसकेको उल्लेख छ। यसको औपचारिक प्रक्रिया किम बाहिर आएपछि मात्र सुरु हुने रिपोर्टमा निष्कर्ष निकालिएको छ। रिपोर्टमा यो जोङको यसअघि दक्षिण कोरिया र अमेरिकाका विषयमा सार्वजनिक अभिव्यक्तिलाई पनि यसको सुरुवातको रुपमा राखिएको छ।