PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

कोरोनाले रित्यायो हिरासत कक्ष, जहाँ ६ दशक कैदी टुटेका थिएनन्

कोरोनाले रित्यायो हिरासत कक्ष, जहाँ ६ दशक कैदी टुटेका थिएनन्

सविन ढकाल/पहिलोपोस्ट


काठमाडौं : सरकारले घोषणा गरेको लकडाउनको कारण देशमात्र होइन अपराधिक गतिविधिमा संलग्नलाई थुनामा राख्ने थुनुवा कक्ष पनि खाली भएको छ। लकडाउनले मानिसहरुलाई घरमै 'कैद' गरेको छ भने कैदमा रहेकाहरु छुटेका छन्। त्यसैले थुनवा कक्ष सुनसान भएको छ।

नेपाल प्रहरीको ६ दशक लामो इतिहासमा महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासत पहिलोचोटी खाली भएको हो। सर्वोच्च अदालतले अहिले गम्भीर प्रकृतिका र पक्राउ गरी थुनामा नराखी नहुनेबाहेक अन्य घटनामा पक्राउ नगर्न भनेको छ। त्यस्तै धरौटी, हाजिरी जमानीमा छोड्न मिल्ने थुनवालाई पनि आवश्यक प्रकृया मिलाएर छोडिएको छ।

नेपाल प्रहरीको इतिहासमा नै पहिलोपटक परिसरको थुनुवा खाली भएको परिसर प्रमुख एसएसपी श्याम ज्ञवालीले जानकारी दिए। 'हामीलाई अहिलेसम्म यसरी थुनुवा कक्ष खाली भएको थाहा थिएन,' उनले भने।

गम्भीर प्रकृतिका अपराध लकडाउनका कारण कमी आउँदा र थुनुवालाई प्रकृया मिलाएर छोड्दा परिसरको थुनुवा कक्ष खाली भएको हो। परिसरमा केही दिनअघि १६ जना थुनुवा थिए। लागू औषध कारोबारमा थुनिएका उनीहरुलाई महानगरीय प्रहरी वृत्त लैनचौरमा सारिएपछि कक्ष खाली भएको हो।

'अहिले थुनुवा कक्ष पूरै खाली छ। केही दिनअघि रहेका थुनुवालाई अरु वृत्तको हिरासतकक्षमा लगिएको छ,' एसएसपी ज्ञवालीले भने।

२०७२ सालमा विनासकारी भूकम्प गएपछि परिसर हनुमाढोकाबाट टेकुमा सारिएको हो। यहाँ रहेको हिरासतमा १ सय ४० जनासम्म थुनुवा राख्ने क्षमता छ। दैनिक १ सय जना थुनुवा आउने जानेक्रम चलिरहेको हुन्थ्यो यहाँ। अहिले थुनुवा कक्ष खाली भएपछि मर्मत सम्भारको काम भइरहेको छ। त्यस्तै कोरोना संक्रमणबाट बच्नको लागि डिस्इन्फेक्सन् समेत भइरहेको छ।

'हामीले मर्मत सम्भार तथा डिस्इन्फेक्सनको काम गरिरहेका छौं,' एसएसपी ज्ञवालीले भने। परिसरमा पुरुष, महिला र तेस्रो लिङ्गी राख्ने बेग्ला बेग्लै कक्षहरु छन्।

काठमाडौं जिल्लामा १४ वटा प्रहरी वृत्त छ। १४ वटामा नै हिरासत कक्ष पनि। तर, अहिले दरवारमार्ग, सिंहदरबार, कीर्तिपुर, जनसेवा लगायतका हिरासत कक्ष खाली छन्। काठमाडौं जिल्लाभरिमा अहिले ३५ जनामात्र थुनुवा रहेको प्रहरीले जानकारी दिएको छ। काठमाडौंमा ६ सय जनासम्म थुनवा राख्ने क्षमता छ।



ट्रेन्डिङ पोस्ट

Ncell