PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

धारचुलाबाट ३५ दिनमा मातृभूमि टेक्न पाएका नेपाली भन्छन्, 'जेलबाट छुटेजस्तै महसुस भयो'



कमलराज भट्ट

धारचुलाबाट ३५ दिनमा मातृभूमि टेक्न पाएका नेपाली भन्छन्, 'जेलबाट छुटेजस्तै महसुस भयो'
फोटोः भोजराज जोशी

काठमाडौँः बैतडी पुर्चौडीका उत्तमबहादुर बोहरा फागुन १८ गते मजदुरी गर्न सीमावर्ती भारतको पिथौरागढ गए। बोहरासहित पाँच जनाको समूहले ढुंगा फोड्ने काम पायो। काम सुरु गरेको १० दिनमात्र भएको थियो, कोरोना भाइरसको सन्त्रासको खबर उनीहरुको कानमा पर्‍यो। दशौं दिनमा उनीहरुले सुने, नेपालमा लकडाउन भयो। लगत्तै भारतमा पनि लकडाउन भयो।

लकडाउनपछि रोजगारी खोसियो। अन्योलमा परेका उनीहरुले अर्को खबर सुने। महाकाली नदीको झोलुङ्गे पुलको गेट खुल्ने। घर फर्कने उदेश्य लिएर उनीहरु एक दिन एक रात हिँडेर धारचुला आइपुगे।

यता आइपुग्दा सिंहदरबारले गेट नखोल्ने आदेश जिल्ला प्रशासन कार्यालय दार्चुलालाई दिइसकेको थियो। गेट खुल्ने आशामा उनीहरु दुई/तीन दिन एक छाक खाएर महाकाली नदी किनारको बसे। नाराबाजी गरे। तर, गेट खुलेन। भारतीय अधिकारीले क्वारेन्टाइनमा लगेर राखिदियो।

बोहराको समूहका देवबहादुर ऐर, दिनेशबहादुर बोहरा, नरेन्द्र भण्डारी र दीपक बमलाई मार्च २८ का दिन बलुवाकोटस्थित क्वारेन्टाइनमा लगियो। जहाँ उनीहरुसहित ३६६ जना नेपालीलाई राखियो। बलुवाकोटमा बैतडी दार्चुला डडेल्धुरा बझाङ कञ्चनपुर कैलाली, दैलेख, दाङसम्मका नेपाली थिए।  

३५ दिनको क्वारेन्टाइनपछि बिहीबार बिहान बोहराको समूहसहित बलुवाकोटका ३६६ जनाका लागि दत्तु पुलको गेटको ताल्चा खुल्यो। सामान्य सोधपुछ र ज्वरो मापनपछि प्रशासनले व्यवस्था गरेको गाडीमा उनीहरु आ-आफ्नो गाउँतिर लागेका छन्।

बोहराको समूहका पाँचै जना बैतडीको पुर्चौडी नगरपालिकाका हुन्। उनीहरुको वडा भने फरक छ। दत्तुबाट नेपाल आएर आफ्नो गाउँ हिँडेका बोहरा दार्चुला-बैतडी सीमाना गोकुलेश्वरमा पुग्दा फोन सम्पर्कमा आए। हामीले सोध्यौँ, कस्तो लाग्यो नेपाल आउँदा? जवाफमा बोहराले भने, 'जेलबाट निस्किए जस्तो लाग्यो। ढिलै भए पनि मातृभूमि टेक्न पाउँदा खुसी लागेको छ। क्वारेन्टाइनबाट आउँदा मनमा खुसी महसुस गर्‍यौँ।'

क्वारेन्टाइनमा छोड्दा भारतीय एसडिएम, डिएम, डाक्टर र सुरक्षाकर्मीले राम्रैसँग गेटसम्म पुर्‍याउन आएको पुर्चौडीकै नरेन्द्र भण्डारीले बताए।

'दु:ख त नेपाल सरकारदेखि छ। जसले सीमामै आउँदा पनि हाम्लाई हेरेन। भोलि हुन्छ, पर्सी हुन्छ, १५ दिनमा हुन्छ भनेर एक महिना कुरायो। क्वारेन्टाइनमा बस्दा शरणार्थीजस्तो लाग्यो। जेलमा बसेजस्तै भयो। यताउती जान नमिल्ने खानबाहेक। जेलजस्तो भयो।'

भण्डारीका अनुसार साढे ९ बजे दत्तुबाट नेपाल प्रवेश गर्न सुरु गरेका नेपालीलाई छाङरुका भूतपूर्व विद्यार्थीले संकलन गरेको राहतस्वरुप प्रतिव्यक्ति पाँच सय रुपैयाँ, चिउरा, चाउचाउ, विस्कुट, पानी वितरण गरेका थिए। त्यसपछि प्रशासनले व्यवस्था गरेका गाडीमा आफ्नो गाउँतिर लागे।

बोहराले पुर्चौडी पुगेपछि र्‍यापिड टेस्ट गरिने त्यसैको रिपोर्टका आधारमा घर जाने बताए।

'क्वारेन्टाइनमा कति राख्लान्? ३५ दिन त्यहीँ भइहाल्यो। निर्णय भएको छैन भन्छन्। निर्णय गरे पनि कति राख्ने हामीलाई, बेहाल हुन्छ।'

करिब २ हजार बढी नेपाली भित्रिए

जिल्ला प्रशासन कार्यालय दार्चुला र बैतडीका अनुसार भारतको पिथौरागढबाट बिहीबार अपराह्नसम्म दुई हजार भन्दा बढी नेपाली स्वदेश फर्किएका छन्। दार्चुलाका दुई नाका खंलगा र दत्तु तथा बैतडीको झुलाघाटबाट नेपाली आइरहेका छन्।

दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरले खलंगाबाट ३७६ जना आएको र दत्तुबाट ९२० जना आएको बताए। दुई नाकाबाट एक हजार २९६ जना नेपाल प्रवेश गरेका छन्।  

आएकाहरुलाई लिन सम्बन्धित स्थानीय निकायका सवारीसाधनमा त्यसतर्फ पठाइएको र बाँकीलाई क्वारेन्टाइनमा राखेर भोलि पठाइने कुँवरले जानकारी दिए। 'अछामको गाडीमा सुर्खेतसम्मका मान्छेलाई पठाउँछौँ। धनगढीको गाडीमा दैलेख, कालिकोट, दाङ, कञ्चनपुरकालाई पठाउँछौँ।,' उनले भने।

बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले अपराह्न ४ बजेसम्म झुलाघाटबाट ८६० जना आइसकेको बताए।

'आउने क्रम चलिरहेको छ। यहाँ पानी परेको छ। तैपनि आइरहेका छन्। उहाँहरुलाई गाडीमा हालेर स्कर्टिङ गरेर पालिका पुर्‍याइदिने कार्य भइरहेको छ,' उनले भने, '६ बजेसम्म आउन दिने भन्ने छ। अब त्यहाँ मुखमै पुगेको अवस्थामा अलिकती एक घण्टा थपिन सक्छ। साँझसम्म एक हजारभन्दा बढी आइपुग्छन् होला।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell