PahiloPost

Jan 25, 2025 | १२ माघ २०८१

विश्वको आधा श्रमशक्ति जीवनयापनको आधार गुमाउँदै [सन्दर्भ विश्व श्रमिक दिवस]



विधुर ढकाल

विश्वको आधा श्रमशक्ति जीवनयापनको आधार गुमाउँदै [सन्दर्भ विश्व श्रमिक दिवस]

काठमाडौं : कोरोना भाइरस महामारीका कारण संसारभर मजदुरहरुले काम गुमाउने खतरामा रहेका छन्। मजदुर दिवस 'मे डे'को अघिल्लो दिन विश्व श्रमिक संगठन (आइएलओ)ले संसार भर एक अर्ब ६० करोड जनसंख्या काम गुमाउने खतरामा रहेको जनाएको छ। यसले उनीहरुको दैनिकीलाई पनि खतरामा पार्न सक्ने आइएलओले चेतावनी दिएको छ।

'आइएलओ मोनिटर थर्ड एडिसन: कोभिड-१९ एन्ड दि वर्ल्ड अफ वर्क' रिपोर्ट अनुसार दैनिक काम गर्ने अवधि घटिरहेको र २०२० को दोस्रो चौमासिकमा यो झन घट्ने प्रक्षेपण गरिएको छ।

पूर्व संकट मूल्यांकन अनुसार १०.५ प्रतिशतले काम गुमाउने उल्लेख छ। जुन ३० करोड ५० लाख बराबर पूर्णकालीन काम हो। जुन यसअघि ६.७ प्रतिशतले घट्ने अनुमान गरिएको थियो। यो संख्या १९ करोड ५० लाख बराबर हो।

लकडाउनका कारण क्षेत्रगत रुपमा काम गुमाउनेहरुको संख्या पनि फरक हुने रिपोर्टमा उल्लेख छ। अमेरिकी क्षेत्रमा मात्र १२.४ प्रतिशतले दोस्रो चौमासिकमा काम गुमाउने र युरोप र मध्ये एसियामा यो संख्या ११.८ प्रतिशतसम्म हुने प्रक्षेपण गरिएको छ।

त्यस्तै बाँकी क्षेत्रमा ९.५ प्रतिशत भन्दा बढीले रोजगारी गुमाउने आकलन गरिएको छ।

कोभिड-१९ पान्डेमिकको कारण आर्थिक संकट उत्पन्न हुने र विश्वभर रहेका दुई अर्ब मध्ये एक अर्ब ६० करोड घरेलु कामदार तथा स्वरोजगारमा रहेकाहरुले पनि आफ्नो आयस्रोत गुमाउने प्रक्षेपण गरिएको छ।

आर्थिक संकटको पहिलो महिनामा स्वरोजगार तथा अनौपचारिक आर्थिक व्यवसायमा रहेकाहरुले ६० प्रतिशतसम्म आफ्नो आय गुमाउने छन्। यो अफ्रिका र अमेरिकी क्षेत्रमा ८१ प्रतिशसम्म पुग्ने र एसिया र प्रशान्त क्षेत्रमा २१.६ प्रतिशत र युरोप तथा मध्य एसियामा ७० प्रतिशतसम्म हुने अनुमान गरिएको छ। आयस्रोतको अन्य विकल्प नहुँदा यी कामदार तथा उनीहरुमा आश्रितहरुले जिउनुको अर्थसमेत गुमाउने छन्।

गत अप्रिल ७ मा आइएलओले प्रकाशित गरेको दोस्रो संकरणको रिपोर्टमा दुई सातामा ८६ प्रतिशतसम्म व्यवसाय बन्द भएको उल्लेख छ। विश्वभर ४३ करोड ६० लाख व्यवसाय जोखिममा परेको वा बन्द भएको रिपोर्टमा उल्लेख छ।

आइएलओले यो संकटलाई गहिरिन नदिन साना व्यवसायलाई तत्काल सहयोग गर्नुपर्ने उल्लेख छ। सबैभन्दा बढी यही समूह जोखिममा रहेको आइएलओले निष्कर्ष निकालेको छ।

'कोरोडौं कामदारका लागि आय नहुनु भनेको खाद्यान्न नहुनु हो। सुरक्षा नहुनु र भविष्य नहुनु हो। जब पान्डेमिक र रोजगारी संकट बढ्दै जान्छ, जोखिममा रहेका समूहलाई तत्काल संरक्षण गर्न आवश्यक पर्छ,' आइएलओका महासचिव गे रिडरले भनेका छन्, 'करोडौं व्यवसाय अहिले अन्तिम अवस्थामा छन्। उनीहरुसँग बचत पनि छैन। यो नै विश्वको रोजगारीको वास्तविक मुहार हो। यदि हामीले अहिले उनीहरुलाई सहयोग गरेनौं भने यी व्यवसाय नासिने छन्।'

आइएलओको अर्को रिपोर्टमा आधा खर्ब जनसंख्या यतिबेला कम आयमै काम गरिरहेको र उनीहरुलाई पर्याप्त सुविधासमेत नभएको उल्लेख छ।

आइएलओले गत जनवरीमा सार्वजनिक गरेको 'वर्ल्ड इम्प्लोयमेन्ट एण्ड सोसल आउटलुक: ट्रेन्ड २०२०' २०२० मा २५ लाख बढ्ने उल्लेख गरेको थियो। पछिल्लो ९ वर्ष विश्व अर्थतन्त्र केही स्थिर रहेको र नयाँ रोजगारी सिर्जना नभएको भन्दै यस्तो अनुमान गरेको थियो।

करोडौं सामान्य मानिसहरुका लागि कामबाट आफ्नो सुरक्षित र सुन्दर जीवन बनाउन कठिन हुने उल्लेख रिपोर्टमा थियो। तर, कोभिड-१९ को पान्डेमिकले नयाँ वर्ष लागेसँगै विश्वव्यापी रुपमा संकट गहिरिँदै जाँदा रोजगारी भएकाहरुले रोजगारी गुमाउने खतरा बढेर गएको हो।

आइएलओले आर्थिक संकटलाई टार्नका लागि मजदुरहरुको संरक्षणमा जोड दिएको छ। उसले लकडाउनलाई खुकुलो पार्टी कार्यक्षेत्रमा कोभिड-१९ नियन्त्रण तथा रोकथामका उपाय अपनाउन अनुरोध गरेको छ।

सबै कामदारहरुले जोखिमको मूल्यांकन गर्दै उनीहरुको कार्यक्षेत्रलाई व्यवासायिक सुरक्षासँगै स्वास्थ्य सुरक्षालाई पनि बढाउनुपर्ने र कामदारहरुमा कोभिड-१९ को संक्रमण रोक्नुपर्ने आइएलओले जनाएको छ।

'हाम्रो जनशक्तिको स्वास्थ्य र सुरक्षाको चुनौती थपिएको छ। संक्रामक रोगहरु फैलिँदै जाँदा हामीले हाम्रा कामदारहरुलाई कसरी जोगाउँछौं भन्ने कुराले हाम्रो समुदाय कति सुरक्षित छ भन्ने देखाउँछ। हाम्रो व्यवसाय कति जोखिममा छ भन्ने देखाउँछ,' आइएलओका महासचिव रिडरले भनेका छन्।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले पनि कार्यक्षेत्रमा कामदारको सुरक्षा तथा सुरक्षित रुपमा काम गर्ने वातावरण सिर्जना गर्न भनेको छ।

'कोभिड-१९ को पान्डेमिकले स्वास्थ्यकर्मीहरुको स्वास्थ्य सुरक्षाका लागि बलियो राष्ट्रिय कार्यक्रम तयार गर्नुपर्ने कुरालाई जोड दिएको छ,'डब्लुएचओका महासचिव डाक्टर टेड्रोस अधनोम घेव्रेइससले भनेका छन्, 'म सबै देखलाई सुरक्षित काम गर्ने वातावरण तयार गर्न अनुरोध गर्दछु।'

आइएलओले कामदारहरुलाई काममा फर्काउन अनुरोधसमेत गरेको छ। त्यसका लागि कार्यक्षेत्रमा सुरक्षाको प्रत्याभुति गराउन देशहरुलाई आग्रह गरेको छ।

कार्यक्षेत्रमा कामुदार, कन्ट्र्याक्टर, उपभोक्ताहरुलाई भौतिक दुरी कायम राख्दै काम गर्ने वातावरण बनाउन अनुरोध गरेको छ। साथै कार्यक्षेत्रमा भेन्टिलेटरको सुविधा बढाउनसमेत आइएलओले सुझाव दिएको छ। कार्यक्षेत्रको सफाइमा समेत ध्यान दिन भनिएको छ।

साथै आवश्यक परे कामदारहरलाई पीपीई उपलब्ध गराउन भनेको छ। उसले कामदारहरुलाई मानसिक स्वास्थ्य सम्बन्धी परामर्श दिन र कामदारहरुलाई स्वास्थ्य सुरक्षासम्बन्धी तालिम दिएर काममा फर्काउनसमेत आइएलओले आग्रह गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell