'घरमुलीले अनिकालमा पनि परिवारलाई भोकै राख्दैन, रुखोसुखो भरणपोषणको जोगावट गर्छ र व्यवहार चलाउँछ। तपाईँहरुको यस प्रधानमन्त्रीले नेतृत्व गरेको सरकारले पनि उपलब्ध स्रोत र साधनले भ्याएसम्म सुविधाको जोगावट गर्छ।'
प्रधानमन्त्रीज्यू, तपाईँले मजदुर दिवसमा शुभकामना दिँदै गर्दा भन्नु भयो - मीठो थियो। तर, मलाई एकरत्ती विश्वास लागेन। तपाईँका पछिल्ला गतिविधिले मलाई तपाईँको यो भनाई पनि तपाईँका पुरानै उखानटुक्का जस्तै लाग्यो, जो भन्नका लागि मात्र भनिएका थिए।
अनिकाल परेका बेला जब घरमुली नै अनिकाल टार्न भन्दा पनि भोकले छट्पटिएका सन्तानलाई दुश्मन देख्न थाल्छ, तब आश मर्दो रै'छ - घरमुलीले रुखोसुखो भरणपोषणको जोगावट गर्ला र व्यवहार चलाउला भन्ने।
प्रधानमन्त्री ज्यू, तपाईँबाट रत्ती भर लागेन।
मजदुरहरु भोकले तड्पिँदै छन्। अन्तर्राष्ट्रिय श्रम संगठनले आधा जसो श्रमशक्तिले जीवन यापनको गुजारा चलाउन नसक्ने गरी थलिने प्रक्षेपण गरेको छ। आज तपाईँले मजदुर दिवसका दिन शुभकामना दिनुभयो। तपाईँको १७ मिनेट लामो भिडियो सन्देशबाट मलाई पटक्कै लागेन कि तपाईँ घरमुली हो र अनिकाल टार्न राशनको जोहो गर्नुहुने छ।
‘एकातिर सम्पूर्ण नेपाली जनता र सिंगै विश्व कोरोना महामारीका विरुद्ध लडिरहेको अवस्था छ, अर्कातिर यही अप्ठ्यारो परिस्थितिलाई मौका छोपेर अस्थितरताका त्यस्ता प्रयासहरु गरिनु दुःखद् कुरा हो। आफ्ना ससाना स्वार्थ वा कुनै गलत उद्देश्यका साथ कसैले यस परिस्थितिलाई बिथोल्न र बिगार्न खोज्छ भने सरकार, नेकपाका कार्यकर्ता र आम नेपाली जनतालाई यो किमार्थ स्वीकार्य हुँदैन। त्यस्ता प्रयासलाई सफल हुन दिइने छैन भन्नेमा म सबैलाई आश्वस्त पनि पार्न चाहन्छु,’ तपाईँले भन्नु भएको छ। तर, एउटा प्रश्न तपाईँलाई अप्ठ्यारो परिस्थितिलाई मौका छोप्यो कसले? तपाईँले।
यही अप्ठ्यारो परिस्थितिको मौका छोपेर अर्काको दल फुटाउने षड्यन्त्र स्वरुप अध्यादेश ल्याउनु भयो। गलत थियो। तपाईँले नै यसलाई पुष्टि गर्नु भएको छ। अध्यादेश सहि थियो भने किन फिर्ता लिइयो?
तपाईँले सन्देशमा सञ्चार माध्यमलाई दोष दिनु भएको छ विकास विरुद्ध देशलाई अस्थिरतातर्फ धकेल्न खोजेको भन्दै। भोका नांगा जनताको आवाज बोलिदिँदा देश अस्थिरता तर्फ जान्छ भन्ने तपाईँलाई लाग्छ भने सोच्नुस् तपाईँ घरमुली हुनै सक्नुहुन्न।
लागेको थियो, मजदुर दिवसका दिन तपाईँले दिने सन्देशमा रोजगार गुमाएका मजदुरहरुको रातहका लागि प्याकेज घोषणा गर्नुहुने छ। अँह! तपाईँ तिनै मजदुरहरुलाई अस्थिरता निम्त्याउने शक्तिको रुपमा पो ब्याख्या गर्दै हुनुहुन्छ।
घरमुलीले अन्नको जोहो गर्न नसक्दा सन्तान अलिकति रुन्छ, भोकको पीडाले। त्यो रुवाईँले घरमुली असफल हुन्छ भने घरमूली हुन सक्ने हैसियत र क्षमता त्यससँग हुँदै हुँदैन।
शक्तिको आडमा आडम्बर बोकेर तपाईँले चालेका कदमहरुले तपाईँमाथि नै प्रहार गर्दैछन्।
'समृद्ध नेपाल, सुखी नेपाली'को नारा दिँदैमा मात्र हुँदैन। त्यसका लागि सोही अनुसारको कदम चाल्न सक्नुपर्छ। 'कोही भोकै पर्दैन कोही भोकले मर्दैन' भन्दैमा भोक भाग्ने होइन। त्यसका लागि गरिबका झुपडीसम्म अन्न पुग्नुपर्छ। बालुवाटारमा बसेर गरिबको चुल्हो बलेको छ कि छैन भन्ने देखिँदैन्। मजदुरको नाममा राजनीति गरेर सिन्को नभाँच्नेहरुलाई वरिपरि राख्दैमा, उनीहरुका आलिशान महल देखेर, उनीहरु चढ्ने चिल्ला गाडी देखेर बाँकी मजदुरहरुका पनि आलिशान महल छन्, चिल्ला गाडी छन् भन्ने कल्पना हो भने तपाईँ दिवास्वप्न देख्दै हुनुहुन्छ। बौरिनुस र सुकुम्बासी बस्तीतिर चिहाउनुस्। अनि थाहा हुन्छ मान्छे भोकै छन कि छैनन्।
बेलाबेलामा इतिहास र पुराण वाचन गर्नुहुन्छ। पक्कै थाहा होला नेपालको इतिहास। राजा महेन्द्र मल्लको नाम त सुन्नु भएकै होला?
'प्रजाको धुरीबाट धुँवा ननिस्कुन्जले भोजन नगर्ने मल्ल राजा को थिए?- महेन्द्र मल्ल।' स्कुल पढ्दा सामान्यज्ञान रटान गर्ने क्रममा पढेको। १६१७ मा कान्तिपुरका राजा बनेका उनले सबै जनताले भोजन गरेको निश्चित भइसके पछि मात्र भोजन गर्थे रे। १४ वर्ष जेलमा बसेर नेपालको इतिहास पूरै पढेको भन्नुहुन्छ तपाईँ। यो पनि त पढ्नु भयो होला। तर, तपाईँमा यस्तो गुण देखिएन। पहिला आफू खाउँ, बचे दिउँला भन्ने सोच देखियो तपाईँमा। अनि तपाईँलाई मैले घरमुली कसरी भन्न सक्छु।
जन्मदिन मनाउन नेपालकै आकृति समेटिएको केक काट्ने तपाईँबाट भोका मजदुरले एक पेट अन्नको आश कसरी गर्ने?
केही अगाडि तपाईँले काठमाडौंमा भोकै पर्ने डरले घर हिँडेका मजदुरलाई प्रतिपक्षी देख्नुभयो। चार महिनाको दूधे बच्चा च्यापेर घर हिँडेका महिलाहरुको पीडा तपाईँको कानसम्म किन पुगेन?
सरकारले लकडाउन लगाउँदा जनताले साथ नै दिएका हुन्। जताततैबाट साथ पाउँदा पनि तपाईँ किन असफल हुनु भयो? कहिल्यै सोच्नु भएको छ? तपाईँ वरिपरी बसेका द्वारे, पाले, बैठकेहरुले तपाईँको कानमा के पुर्याउँछन् त्यही सत्य होइन।
तपाईँ प्रति सामान्य वडा अध्यक्षले नै विश्वास गरेका छैनन्। स्थानीय तहका वडाध्यक्षहरु आफ्ना जनता काठमाडौंमा भोकले मर्न लागे भनेर बस लिएर घर फर्काउँदै छन्। तपाईँ अझै भन्दै हुनुहुन्छ- भोकले कोही मर्दैन?
यसबीच कति जना बाहिर पठाउनु भयो? राहतको नाममा ७० करोड बाँडेको भन्नुहुन्छ, कसलाई बाँड्नु भयो ? अझै खान नपुग्ने मजदुरहरु भोकले छट्पटिँदै छन्। लक्षित वर्गमा पुग्यो कि पुगेन्? कहिल्यै सोच्नु भयो?
मुलुक कोरोना भाइरस विरुद्ध लडिरहेको छ। जनता त्यसै त्रस्त छन्। तपाईँ राजनीतिको रंगमञ्चमा नाटक मञ्चन गर्दै हुनुहुन्छ। 'देश आहतमा परेको बेला मौका छोप्ने तपाईँ कि अरु?' सोध्न मन छ।
कोरोनाले व्याकुल जनतालाई राहत दिन सांसद परिचालन गर्दै जनताको समस्या समाधान गर्नुपर्ने तपाईँ गाउँमा रहेका सांसदलाई सरकारी खर्चमा बालुवाटारमा डाकेर शक्ति देखाउँने चेष्चा गर्दै हुनुहुन्छ भने तपाईँ कसरी जनताको रक्षक हुन सक्नु हुन्छ? तपाईँ मेरो घरमुली कसरी बन्न सक्नुहुन्छ?
घरमुलीले पैंचो गर्छ, गर्जो टार्छ। भारतमा काम गुमाएका मजदुरलाई राहतका लागि सरकारले तलब दिन बजेट छुट्याउँछ। तपाईँ के गर्दै हुनुहुन्छ? घरमुलीले अलिकति छिमेकबाट पनि सिक्नुपर्छ। विश्वका नेताहरु कोरोना भाइरस विरुद्ध सबैलाई साथ लिएर जनतालाई राहत दिने काममा जुटेका छन्। तपाईँ भने आफू मात्र सर्वेसर्वा भन्दै अरुलाई खेद्ने मौका यही हो भन्दै 'शक्तिको हिसाव किताव' मात्र गर्दै हुनुहुन्छ।
आजै तपाईँका को-पाइलटले भोका मजदुरलाई खाद्यान्न देउ, अलपत्र परेकालाई गन्तव्य पुर्याउ भन्दै वक्तव्य जारी गर्नुभएको छ। तपाईँको त्यति पनि मति आएन कि भोकालाई खाद्यान्न पुर्याउन निर्देशन दिने? अलपत्रलाई घर पुर्याउने सोच पनि आएन? अझ उल्टै भोकै भए भन्नेलाई अस्थिरता निम्त्याउने शक्ति देख्नुहुन्छ भने तपाईँलाई घरमुली म कसरी भनुँ?