PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

अस्थिरताका 'नायक' मिडिया कि प्रधानमन्त्री? [सम्पादकीय]



पहिलोपोस्ट

अस्थिरताका 'नायक' मिडिया कि प्रधानमन्त्री? [सम्पादकीय]

केही दिनअघि भारतको राजधानीसमेत रहेको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले कोरोनाको संक्रमणमा रिपोर्टिङ गरिरहेका पत्रकारलाई सम्बोधन गर्दै भनेका थिए – 'यस्तो संकटको अवस्थामा पत्रकारहरु अग्रमोर्चामा खटिएर सूचना प्रवाह गरिरहनु भएको छ, उहाँहरुलाई सलाम। कोरोनाको जोखिममा पत्रकारहरु पनि हुनुहुन्छ, उहाँहरुलाई परीक्षणका लागि व्यवस्था गरिएको छ।'

कोरोना संक्रमणको अवधिमा पत्रकार जोखिमपूर्ण अवस्थामा रहेर काम गरिरहेको विषयमा उनले जसरी अभिव्यक्ति दिएका थिए त्यसको ठीक उल्टो धारणा सार्वजनिक गरिरहेका हुन्छन् हाम्रा प्रधानमन्त्री केपी शर्मा ओली। मनमौजी ढङ्गले आफ्नै ढिपीले अध्यादेश ल्याएर अरु दल फुटाउने असफल प्रयास गर्दै सङ्लो पानी धमिल्याउने प्रयासको गल्ती स्वीकार्नुको साटो मिडियालाई आक्षेप लगाउँदै उनले मे दिवसको शुभकामना दिएका छन्। उनको शुभकामनामा कामना कम आक्रोश ज्यादा छ, त्यो पनि मिडियामाथि।

अहिले राजनीति भाँडिनुको केन्द्रीय पात्र अरु कोही होइन, प्रधानमन्त्री ओली स्वयम् हुन्। उनका अराजनीतिक गतिविधिका कारण मुलुकको सबैभन्दा शक्तिशाली सरकार धरमराउने अवस्थामा पुगेको छ। यो अवस्था निम्तिनुमा न प्रतिपक्षी जिम्मेवार छन् न त मिडिया नै। आफ्नो कमजोरी अलिकति पनि स्वीकार्न नसक्ने प्रधानमन्त्री ओलीको आक्षेप मिडियातिरमात्रै किन? किन प्रधानमन्त्री लगातार मिडियाप्रति असहिष्णु बन्दै गएका छन्?

आज मे १। विश्व श्रमिक दिवस। प्रधानमन्त्रीले श्रमिकका नाममा सन्देश जारी गर्दा आफैँले गिजोलेको राजनीतिमाथि प्रश्न उठाए। मिडियामाथि आक्रोश पोख्नु उनको अभिव्यक्तिको हिस्सा बन्दै गएको छ। राम्रो काम गर्दा मिडियाले तारिफ गर्न चुकेका छैनन् तर प्रधानमन्त्रीका पछिल्ला कदमले उनको कद यसरी गिराएको छ कि उनी ती सबैको दोष मिडियामाथि थोपारेर आफू पानीमाथिको ओभानो हुने यत्नमा जुटेका छन्।

'आज नेपालका केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा पनि स्थिरता, स्थायित्व र विकासका विरुद्ध देशलाई अस्थिरतातर्फ धकेल्ने प्रकृतिका प्रयासको समाचार सम्प्रेषण र चर्चा भइरहेको देखिन्छ,' प्रधानमन्त्रीले आज मजदूरका नाममा जारी गरेको संदेशमा भनेका छन्।

उनको यो अभिव्यक्ति आपत्तिजनक छ। के अहिलेको राजनीतिक अस्थिरता निम्त्याउने अध्यादेश मिडियाले ल्याएको हो? केकस्ता विकासका गतिविधि रोक्न मिडिया लागिपरे? प्रधानमन्त्री ओलीले त्यसको जवाफ दिनुपर्छ। बालुवाटार प्रकरणका नायक मिडिया हो? यति समूहलाई मिडियाले बनाएको हो? ओम्नी समूह जोडिएको प्रकरण मिडियासँग जोडिएको हो? प्रधानमन्त्री ओलीले यी सबै प्रश्नको जवाफ दिनैपर्छ। के मिडियाले मानिसहरुलाई सयौं किलोमिटर हिँड्न बाध्य पारेको हो? ती पीडामा गुज्रिएका मजदूरहरुको अवस्थालाई उजागर गर्न छाडेर मिडिया प्रधानमन्त्रीको भजनमा लिप्त हुनुपर्ने, देशमा रामराज्य भइरहेको र समृद्धि आइसकेको बखान छाट्नुपर्ने?

ओलीले जतिखेर भारतले नाकाबन्दी लगाउँदा अडान लिए, मिडियाले नै हो उनलाई 'हिरो'को रुपमा स्थापित गरेकै थिए त। ओलीले त्यस क्षणलाई बिर्सिएका छन्। अहिले प्रधानमन्त्री बन्ने हैसियतमा उनको दल पुग्नुमा मिडियाकै साथ थियो, त्यो पनि भुलेका छन्। पदको आशक्तिको जन्जिरले बाँधिएका प्रधानमन्त्री ओलीका 'हावादारी' योजनालाई मिडियाले गजबले ब्याख्या गरेकै थिए। घरघरमा ग्यासको पाइप, रेलमा सरर यात्रा... काल्पनिक कथाहरुलाई बोकेकै थिए। तर, प्रधानमन्त्रीले रेलको टिकट काट्न र पानी जहाजको कथा हाल्न बिर्सिसके। आज प्रधानमन्त्रीको अभिव्यक्तिले दिएको संदेश हो - मिडियाकै कारण रेल रोकियो, पानी जहाज चलेन, विकास ठप्प भयो। 

दोहोर्‍याउँ, मुलुकमा अहिलेको राजनीतिक अस्थिरता कसैले ल्याएको हो भने प्रधानमन्त्री ओलीले नै त्यसका मुख्य कारक हुन्। नेपाली इतिहासमा सबैभन्दा बलियो सरकारलाई सबैभन्दा कमजोर हिसाबले चलाएका ओलीले जनमतको यसरी अवमूल्यन गर्छन् भन्ने कसैको अपेक्षा थिएन। कोरोना संक्रमणले सताइरहँदा देशलाई अस्थिरताको सुत्रधार सबै दोष अरुतिरै पन्छाउन तल्लिन छन्।

'एकातिर सम्पूर्ण नेपाली जनता र सिङ्गै विश्व कोरोना महामारीविरुद्ध लडिरहेको अवस्था छ, अर्कातिर यही अप्ठ्यारो परिस्थितिलाई मौका छोपेर अस्थितरताका त्यस्ता प्रयास गरिनु दुःखद् कुरा हो,' प्रधानमन्त्रीले भनेका छन्। यो अभिव्यक्ति सहि हो तर यो प्रधानमन्त्रीबाट आउनु चाहिँ ठीक गलत। जो अस्थिरताको बीउ छर्दै हिँड्यो, उसैले अर्ती दिन सुहाउँदैन।

यति चाहिँ प्रस्ट हो, मिडियाले स्थिरता चाहेको छ। त्यसैअनुसार अपेक्षा पनि गरेको हो सरकारबाट। तर, प्रधानमन्त्रीले मिडियाले नै विकास विरुद्ध देशलाई अस्थिरतातिर धकेलेको आक्षेप लगाइरहँदा आफ्ना गतिविधिलाई पूरै बिर्सिएका छन्। पछिल्लो समय नेपाली राजनीति तरङ्गित बनाउने कुनै पनि घटना मिडियाले सिर्जना गरेको होइन। ती सबैमा प्रधानमन्त्रीकै सक्रियता र भागिदारी छ। देश सम्हाल्ने नेतृत्व यसरी मिडियामाथि आलोचना गरेर गतिछाडा हुनु कसैका लागि पनि हितकर छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell