PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

नेकपामा चर्किएको राजनीतिक किचलोसँगै चलायमान भयो चीन, सक्रिय भयो राजदूतावास



पहिलोपोस्ट

नेकपामा चर्किएको राजनीतिक किचलोसँगै चलायमान भयो चीन, सक्रिय भयो राजदूतावास
नेता नेपाल चिनियाँसँगको छलफलमा

काठमाडौं : पछिल्लो समय सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा राजनीतिक किचलो बढ्दै गएको छ। राजनीतिक किचलो बढ्दै जाँदा चिनियाँ दूतावासको सक्रियतासमेत बढ्दै गएको छ।

कोरोना भाइरसको संक्रमण बढ्दो संक्रमण र नेकपामा विवाद बढ्दै जाँदा चिनियाँ राजदूत होउ यान्छीले प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेता माधव नेपाललाई छुट्टाछुट्टै भेट गरेकी छिन्।

राजदूत होउले प्रधानमन्त्री ओलीसँग बिहीवार राती बालुवाटारमै पुगेर भेट गरेको बालुवाटार स्रोतले जनाएको छ। ओली र होउबीच झण्डै दुई घण्टा लामो छलफल भएको थियो।

यता, आज शुक्रवार राजदूत होउ नेकपाका अर्का अध्यक्ष प्रचण्डलाई भेट्न प्रचण्ड निवास खुमलटार पुगिन्। भेटमा नेपालको पछिल्लो राजनीतिक विकास र कोरोना भाइरसको विषयमा सहयोग आदानप्रदानका विषयमा छलफल भएको खुमलटार स्रोतले जनाएको छ।

त्यस्तै, आजै राजदूत होउले नेकपाका अर्का नेता नेपालसँग भेट गरिन्। विदेश मामिला विभागका प्रमुखसमेत रहेका नेता नेपाललाई भेट्न राजदूत होउ नेपाल निवास कोटेश्वर पुगेकी हुन्।

भेटका अवसरमा दुई देशबीचको सम्बन्धका विविध पक्षका विषयमा कुराकानी भएको नेकपाका केन्द्रीय सदस्य तथा विदेश मामिला विभागका सदस्य विष्णु रिजालले जानकारी दिए।

यसअघि नेता नेपालले बुधवार चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका प्रमुखसहितका नेताहरुसँग छलफल गरेका थिए। चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका प्रमुख सङ ताओ, प्रध्यापक झोङ नान सान सहित स्वास्थ्य विज्ञहरुसँग नेता नेपालले भिडियो कन्फ्रेन्स मार्फत् छलफल गरेका थिए।

यद्यपि, यस छलफलमा उपप्रधानमन्त्री ईश्वर पोखरेलसहित गण्डकी प्रदेशका पार्टीका इन्चार्जबाहेक सबै प्रदेशका पार्टी इन्चार्जहरु सहभागी थिए।

नेपालमा नयाँ राजनीतिक घटनाक्रम हुँदा भारतीय दूतावासको सक्रियता बढ्ने सामान्य इतिहास देखिन्छ। यसपटक भने चिनियाँ सक्रियता बढ्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

चिनियाँ राजदूत होउले भेटका क्रममा नेकपा भित्रको विवादका विषयमा समेत चासो राखेको बताइएको छ। यद्यपि, भेटमा के विषयमा कुरा भयो भन्ने नेताहरुले खुलाएका छैनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell