PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

रक्सीले घाटीमै कोरोना भाइरस मार्ने भन्दै भारतका सांसदले सरकारलाई पठाए मदिरा पसल खोल्ने मागपत्र



पहिलोपोस्ट

रक्सीले घाटीमै कोरोना भाइरस मार्ने भन्दै भारतका सांसदले सरकारलाई पठाए मदिरा पसल खोल्ने मागपत्र
PHOTO : The liquor shop

विश्व कोरोना भाइरसको महामारीले आक्रान्त छ। बजारहरु बन्द छन्। अत्यावश्यक बाहेक पसलहरु खुलेका छैनन्। जसमा धेरै उपभोग हुने मदिराको पसलहरु पनि बन्द छन्।

कोरोनाको त्रासले लकडाउन सुरु भएसँगै हिजोमात्रै निधन भएका बलिउड अभिनेता ऋषि कपूरले निश्चित समय तोकेर मदिरा पसल खोल्नु दिनुपर्ने सुझाव सरकारलाई दिएका थिए। लुकीछिपी कारोवार भइरहेको र यसले कालोबजारी हुने भन्दै ट्वीटरमा उनले दिनको साझको समय १/२ घण्टाका लागि खोल्नु उपयुक्त हुने उल्लेख गरेका थिए।

त्यसैगरी नेपालमा पनि हप्ताको एक दिन भए पनि पसल खोल्न पाउनुपर्ने मदिरा व्यवसायीले माग गरेका थिए। सामाजिक दुरी कायम गरेर आफूहरु कारोवार गर्न तयार रहेको उनीहरुको भनाई थियो।

अब छिमेकी देश भारतको राजस्थान राज्यमा सांसदहरु नै मदिरा पसल खोल्नुपर्ने पक्षमा उभिएका छन्। यहाँको सत्तारुढ बीजेपी, प्रतिपक्षी कांग्रेस आई र कम्युनिस्ट पार्टीका सांसदले मदिरा विक्रीवितरण खोल्न माग गर्दै मुख्यमन्त्रीलाई पत्र लेखेका छन्।

भारतमा मे ३ सम्म लकडाउन कायम छ। संक्रमित बढ्दै गएकाले अझै थपिने देखिएको छ। यस्तो बेला राजनीतिक कुरामा एक अर्काको सत्तोसराप गर्ने नेताहरु मदिरा विक्री खोल्ने मुद्धामा भने एकजुट देखिएका छन्।

राजस्थान सरकारका पूर्वमन्त्री एवं सांगोदबाट निर्वाचित कांग्रेस सांसद भरत सिंह, भारतीय जनता पार्टी (बीजेपी) का पूर्वमन्त्री भवानी सिंह राजावत र कम्युनिस्ट पार्टीका सांसद बलवंत पुनियाले प्रदेश सरकारलाई पत्र लेखेर तत्काल मदिरा विक्री शुरू गराउन माग गरेका हुन्।

कांग्रेस आईका सांसद भरत सिंहले त पत्रमा अल्कोहलले हात धुने गर्दा कोरोना भाइरस मरिरहेकाले मदिरा पिउँदा घाटीमै मर्ने टिप्पणीसमेत गरेका छन्। उनले भनेका छन्, 'सरकारले पैसा (राजश्व) पाउनेछ। भाइरस पनि मर्नेछ। यसकारण शराबको बिक्री वितरण तत्काल शुरू गरौं।'

उता बीजेपी नेता भवानी सिंह राजावतले त देवीदेउतालाई जोडेर खोल्नुपर्ने तर्क दिएका छन्। 'सतयुगमा पनि देवता सोमरस पिउँथे,' उनले भनेका छन्।

कोरोना महामारीमा मदिराबाट वन्चित गर्नु ठिक नभएको उनको भनाई छ। 'ठूला-ठूला महापुरुष र देवता जब युद्धमा जान्थे, तब युद्धभन्दा पहिला दुश्मनहरुको नाश गर्नका लागि सोमरसको सेवन गर्थे। त्यसकारण कोरोनासँग लड्नका लागि मदिरा पान जरूरी छ,' उनले भनेका छन्।

मदिराको बिक्री शुरू गर्न भन्दै सबैभन्दा पहिले कम्युनिस्ट पार्टीका विधायक बलवंत पुनियाले पत्र लेखेका थिए। उनका तर्क छ, 'मदिराको लत लागेका मानिस परेशान छन् र सरकारलाई पनि घाटा भइरहेको छ। यसकारण बिक्री शुरू गर्न आवश्यक छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell