
काठमाडौं : शुक्रवार प्रदेश ५ मा एकै दिन कोरोना भाइरसको संक्रमण देखिएका दुई जनामध्ये एक जना भर्खरै भारतबाट लुकीछुपी नेपाल भित्रिएका युवक रहेको खुलेको छ। रुपन्देहीको कोटहीमाई गाउँपालिका २५ वर्षीय युवक वैशाख ५ गते नयाँ दिल्लीबाट उत्तर प्रदेशको थोथरी हुँदै नेपाल भित्रिएका हुन्।
भारतसँग सीमा जोडिएको यस गाउँपालिकामा उनी आइसकेपछि पनि लुकीछिपी नेपाल प्रवेश गर्नेहरुको लर्को छ। हाल गाउँपालिकाको क्वारेन्टाइनमा उनीभन्दा पछि लुकीछिपी भारतीय नाकाबाट नेपाल प्रवेश गरेका ६ जनालाई क्वारेन्टाइनमा राखिएको छ।
'हाल संक्रमित भएकासहित क्वारेन्टाइनमा १० जना थिए। उनीहरुको कोरोना भाइरस परीक्षणका लागि स्वाब संकलन गरी पठाइएको थियो,' गाउँपालिकाका क्वारेन्टाइन व्यवस्थापक मुल हुसेन खानले भने, 'पछि ६ जना थपिएका छन्। उनीहरु पनि भारतबाट आएका हुन्।'
क्वारेन्टाइनमा रहेका एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै बाँकी सबैको परीक्षणको तयारी भइरहेको उनले जानकारी दिए।
'हामीले चैत १७ गते पछि नेपाल प्रवेश गरेका सबैलाई क्वारेन्टाइनमा राखेका छौं,' खानले भने, 'अरु आएका छन् भन्ने त लाग्दैन तर, लुकिछिपी आएर लुकेरै बसेका भए हामीले खबर गर्न भनेका छौं।'