काठमाडौं : सरकारले ६० हजार भन्दा बढी मानिसको कोरोना भाइरस परीक्षण गरेको छ। जसमा संक्रमितको संख्या ५९ जना पुगेको छ। शुक्रबारमात्रै २ जना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले १२ हजार ५ सय ७७ जनाको प्रयोगशाला (पिसिआर) र ४७ हजार ७ सय ९७ को र्यापिड (आरडिटी) परीक्षण गरिएको जानकारी दिए।
उनका अनुसार क्वारेन्टाइनमा २४ हजार ९ सय ७ र आइसोलेसनमा ९४ जना छन्।
बिहीबारसम्म १२ हजार १३ पीसीआर र ४६ हजार ८ सय ६० को आरडिटी गरिएको थियो।
बाँके र रुपन्देहीमा आज एक/एक जनालाई कोरोना पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या ५९ पुगेको छ। नेपालमा देखिएका संक्रमितमध्ये पुरुष धेरै छन्।
४९ जना पुरुष संक्रमित हुँदा १० जना महिलामा मात्रै कोरोना संक्रमण देखिएको छ।