PahiloPost

Sep 9, 2026 | २४ भदौ २०८३

तिमी मेरो श्रममा चलेको सरकार !



सहयोग रञ्जित

तिमी मेरो श्रममा चलेको सरकार !

शहर बन्द छ

बन्द छ मेरो कारखाना पनि

जहाँ बगाएको पसिनाले

रित्तिएको सन्दुक भर्ने प्रयास गर्दै थिएँ म

 

म, एक श्रमिक!

अनि तिमी मेरो श्रममा बाँचेको मान्छे।

 

शहरको गति रोकिएसँगै

बग्न बन्द भएको छ मेरो पसिना पनि

थुनिएँ एक साँघुरो कोठामा

फेरि श्रम बेच्ने आशामा

 

दिन बिते

रित्तियो थौरै भरिएको सन्दुक पनि

अनि खोज्न हिँडे साहुलाई

आहतमा राहत पाउँ भनी

 

साहुले खाली हात फर्काइदियो

काम छैन पैसा नि छैन भनी

म श्रमिक

अनि तिमी मेरो श्रममा बाँचेको मान्छे

 

भोलि शहरमा तिम्रो अर्को घर ठडिन

मैले श्रम गर्नु थियो

त्यसका लागि पनि

आज मलाई बाँच्नु थियो

 

साँघुरो कोठाबाट निस्किएँ त्यसपछि

खोज्दै आफ्नो सरकार फेरि

सोधियो को हौ तिमी

मैले भनेँ

म एक श्रमिक

अनि तिमी मेरो श्रममा चलेको सरकार!



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell