
काठमाडौंः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाल निवास कोटेश्वरमा अध्यक्ष पुष्पकमल दाहालसहित स्थायी कमिटी सदस्यहरूले छलफल गरेका छन्।
सचिवालय बैठकको पूर्व सन्ध्यामा नेता नेपाल निकट स्थायी कमिटी सदस्यहरुसँगको छलफलमा प्रचण्ड पनि पुगेका हुन्।
छलफलमा शनिबारको सचिवालय बैठकबाट छिट्टै स्थायी कमिटी बैठक डाक्न माग राखेको भेलामा सहभागी युवराज ज्ञवालीले जानकारी दिए।
'हामीले भोलिको सचिवालय बैठकमा स्थायी कमिटीको बैठकको मिति तोक्न आग्रह गर्यौँ। सचिवालयले मात्र अहिलेको समस्याको समाधान दिन्छ जस्तो लाग्दैन। घण्टौँ उहाँले छलफल गर्नुहुन्छ। कुनै निष्कर्ष निस्किएको छैन। त्यसैले स्थायी कमिटी बैठक बोलाउन भनेका छौँ, उनले भने।
स्थायी कमिटी बैठकबाटै अस्पष्ट भएका कुरामा स्पष्ट हुँदै जानुपर्नेमा आफूहरुले जोड दिएको बताए।
'सचिवालयभन्दा फराकिलो दायरा भएको स्थायी कमिटी डाकिनुपर्छ। हाम्रा कतिपय कुरा छन्। अस्पष्ट भएका कुरा स्पस्ट हुँदै जानुपर्छ। बैठकमा हामीले कुरा राख्न पाउनुपर्छ', ज्ञवालीले भने।
अर्का सदस्य वेदुराम भुसालले भने नेता नेपालले अध्यक्षको प्रस्ताव अस्वीकार गर्ने र प्रधानमन्त्रीको हकमा राजीनामा दिएर मार्ग प्रस्तात गरे त्यसमा सहमत हुनसक्ने बताए।
'अध्यक्ष बन्ने हकमा त विधानमा व्यवस्था पनि छैन। नेता नेपालले सो प्रस्तावमा जान नसकिने कुरा गर्नु भएको छ। प्रधानमन्त्रीको हकमा उहाँले राजीनामा दिएर वामदेव कमरेडलाई प्रधानमन्त्री बन्ने प्रकिया अघि बढाए सहमत हुन सकिन्छ।'
छलफलमा स्थायी कमिटी सदस्य युवराज ज्ञवाली ,भीम रावल, अष्टलक्ष्मी शाक्य, रघुजी पन्त, वेदुराम भुसाल लगायतका नेताहरू सहभागी थिए।
प्रचण्ड र नेपालले प्रधानमन्त्री ओली स्थायी कमिटी बैठक डाक्ने पक्षमा नरहेको बिफ्रिङ गरेका थिए।
तर, स्थायी कमिटी सदस्यहरुले भने बहुमतबाट भए पनि स्थायी कमिटी बैठक डाक्न सुझाएका छन्।
बुधवारको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले वामदेव गौतमलाई प्रधानमन्त्री र नेता नेपाललाई अध्यक्ष बनाउने प्रस्ताव राखेका थिए। त्यसपछि प्रम ओलीले बिहीबार नेता नेपालसँग भेट गरेका थिए। शुक्रबार प्रचण्डसँग भेट गरेका थिए। भेटमा भएका कुराकानी बुझ्न स्थायी कमिटी सदस्यहरु भेला भएका हुन्।
भोलि सचिवालय बैठक डाकिएको छ। यसअघि नै २० स्थायी कमिटी सदस्यहरुले नेतृत्वसँग बैठकको लिखित माग गरिसकेका छन्।