PahiloPost

Jan 24, 2025 | ११ माघ २०८१

कोरोना भाइरस संक्रमित भेटिएपछि नेपालगञ्जका चार स्थान बन्द



रासस

कोरोना भाइरस संक्रमित भेटिएपछि नेपालगञ्जका चार स्थान बन्द
फाइल फोटो।

बाँके : बाँकेमा कोरोना भाइरस संक्रमित भेटिएपछि प्रशासनले उच्च सतर्कता अपनाएको छ। जिल्ला प्रशासन कार्यालयमा बसेको उच्चस्तरीय सुरक्षा संयन्त्रको बैठकले कोरोना संक्रमणको आशंकामा नेपालगञ्जका चार स्थान बन्द गरेको छ। बाँके प्रशासनले नेपालगन्जको डिएसपी रोड, धम्बोझी, एकलैनी र महेन्द्र पार्क आसपासका क्षेत्र बन्द गरेको हो। नेपालगञ्जका यी क्षेत्र साँघुरा र घनाबस्तीयुक्त हुन्।

लकडाउनमा मस्जिदमा नमाज तथा अजानका क्रममा नियमित आवतजावत गर्न समस्या पर्ने हुँदा संक्रमित व्यक्ति रमजानको सुरुवातसँगै उक्त मस्जिदमा बस्ने गरेको बुझिएको छ। सोही मस्जिदका इमामको परीक्षण गर्दा उनको रिपोर्ट भने नेगेटिभ आएको छ। कोरोना संक्रमित उनी लकडाउन शुरु हुनुअघि भारतको नानपारालगायत ठाउँमा गएका थिए। उनको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकले बताएका छन्।

भारतको सीमा क्षेत्र बहराइचबाट करिब एक महिनाअघि नेपाल फर्किएका उनलाई क्वारेन्टाइनमा राखिएको थियो। महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनबाट झन्डै ६०० जना भागेका थिए। यी संक्रमित पनि भाग्नेमध्ये भएको प्रहरी स्रोतले बताएको छ। प्रशासनका अनुसार संक्रमित व्यक्ति डिएसपी रोडस्थित घरबाट महेन्द्र पार्कस्थित मस्जिदमा दैनिक आउजाउ गर्दै आएका थिए।

उनका श्रीमती र छोरा तथा नजीकका छिमेकीको पनि कोरोना जाँच गरिने भएको छ। नेपालगञ्ज धम्बोझीका अर्का एक युवकमा पनि संक्रमणको आशंका गरिएपछि सो क्षेत्र बन्द गरिएको हो। ती युवक धम्बोझीस्थित मस्जिदमा बस्दै आएका थिए। डुडवा गाउँपालिकाका उनी लामो समयदेखि घर छाडेर मस्जिदमा बस्दै आएका छन्।

उनलाई पनि खजुरास्थित क्यान्सर अस्पतालमा रहेको आइसोलसनमा राखिएको छ। उक्त मस्जिद लकडाउनपछि बन्द गरिएको थियो। उनको पनि बिहीवार स्वाब संकलन गरी जाँच गरिएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए।  प्रहरीको स्कर्टिङमा एम्बुलेन्समा राखेर उनलाई खजुरास्थित आइसोलेसन वार्डमा लगिएको हो। संक्रमित एम्बुलेन्ससम्म सामान्यरुपमा हिँडेरै आएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell