
काठमाडौं : कारोना भाइरस (कोभिड-१९) का विरुद्ध लड्न चीनको गान्सु प्रान्त सरकारले वाग्मती प्रदेश र प्रदेश नम्बर ५ लाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ।
शुक्रवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आयोजित एक कार्यक्रममा गान्सु प्रान्त सरकारका प्रतिनिधि होङ्ग होङ्गले मन्त्री योगेश भट्टराईको रोहबरमा सचिव केदारवावु अधिकारीलाई २० हजार थान सर्जिकल मास्क र एक हजार थान पिपिई हस्तान्तरण गरेका हुन्।
कार्यक्रममा मन्त्री भट्टराईले कोरोना विरुद्धकोे लडाई जित्नका लागि प्राप्त स्वास्थ्य सामाग्रीले ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गरे। सहयोगले नेपाल–चीनबीचको सम्बन्धलाई अझ सुदृढ बनाउनुका साथै दुई देशका जनताबीचको सम्वन्धलाई पनि प्रगाढ बनाउने विश्वास मन्त्री भट्टराईले व्यक्त गरे।
मन्त्रालयका सचिव अधिकारीले प्राप्त सहयोगका लागि सरकारका तर्फबाट धन्यवाद व्यक्त गर्दै यसबीचमा चीन सरकारका विभिन्न तहबाट प्राप्त सहयोगको पनि उच्च प्रशंसा गरेका थिए।
त्यस्तै, गान्सु प्रान्त सरकारका प्रतिनिधि होङ्गले आफ्नो सरकारका तर्फबाट यो पहिलो सहायता भएको उल्लेख गर्दै आवश्यकता अनुसार थप सहयाग गर्दै जाने बताए। चीनबाट शुरु भएको कोरोनाको प्रकोप अहिले विश्वव्यापी भइसकेको सन्दर्भमा आफूहरुले यसबाट प्रभावित देशहरुलाई सक्दो सहयोग गर्न चाहिरहेको उल्लेख गर्दै उनले कोरोना विरुद्धको यो लडाई जित्न थप आवश्यकता चाहिएमा खुलस्त रुपमा भन्न समेत आग्रह गरे।