काठमाडौं : कोभिड-१९ को जोखिम हुन नदिन लकडाउन जारी रहँदा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमनका क्रममा ७० लाख ६५ हजार रुपैयाँ जरिबाना असुल गरेको छ।
यस अवधिमा विभागले काठमाडौं उपत्यकाको विभिन्न स्थानमा गरेको अनुगमनका क्रममा कारबाहीस्वरुप व्यवसायीबाट उक्त रकम असुल गरेको हो। विभागका अनुसार यो लकडाउनपूर्व भन्दा बढी हो। सरकारले गत चैत ११ गतेदेखि नै देशभरि लकडाउन जारी गरेको थियो।
विभागले गरेको विशेष अनुगमनका क्रममा सबैभन्दा बढी स्वास्थ्य सामग्रीका पसलमा अनियमितता पाएपछि जरिबानास्वरुप रकम असुलउपर गरेको हो। व्यवसायीले बढी मूल्य लिएको, दर्ता प्रमाणपत्र देखाउन नसकेको, नवीकरण नगरेको, अनुगमन टोलीलाई असहयोग गरेको र खरिद बिक्री बिल देखाउन नसकेकाले विभागले कारबाही गरी रकम असुल गरेको हो।
विभागले हरेक दिन आठजनाको टोली बनाएर बजार अनुगमनलाई तीव्रता दिँदै आएको छ। अनुगमनका क्रममा पाँच हजारदेखि तीन लाख रुपैयाँसम्म असुलउपर गर्न पाउने अधिकार कानूनीरुपमा रहेको छ। विभागका निरीक्षण अधिकृत दीपकराज पोखरेलका अनुसार लकडाउनयता २४५ वटा पसलको अनुगमन गरिसकेको छ।
जसमा सबैभन्दा बढी खाना पकाउने ग्यास ८० वटा पसलको अनुगमन भएको छ। औषधि पसलको १९, खाद्यान्न ४६, डेरी तीन, तरकारी तीन, फलफूल चार, पेट्रोल पम्प २३ र सुपरमार्केटलगायत पसलको अनुगमन गरिएको छ।
उपभोक्ताका गुनासो बढे
विभागका अनुसार लकडाउनको अवधिमा उपभोक्ताका गुनासो बढेका छन्। विभागले विगत चार वर्षदेखि नै ११३७ टोल फ्री नम्बर सार्वजनिक गरी उपभोक्ताको गुनासो सुन्ने गरे पनि पहिले नगन्य मात्रामा मात्रै गुनासो आएका थिए भने अहिले आएका गुनासो सम्बोधन गर्न विभागलाई हम्मेहम्मे परेको छ।
पहिलो हप्तामा एक दुईवटा मुस्किलले आउँथे अहिले दैनिक २५÷३० वटासम्म पनि आउने गरेको छ। लकडाउनको सुरुवाती समयमा त दैनिक ४०० वटासम्म आएको अधिकृत पोखरेलले जानकारी दिए। उनका अनुसार गुनासा बाहिरी जिल्लाबाट पनि आउने भएको हुँदा त्यसका लागि सम्बधित स्थानीय तहलाई नै जानकारी दिने र काठमाडौं उपत्यकाको हकमा विभागले नै गुनासो सुनुवाइ गर्दै आएको छ।
गुनासोका रुपमा अहिले राहत सामग्री नपाएको र बढी मूल्य लिएको गुनासो आएका छन्। लकडाउनको सुरुवाती समयमा ग्यासको अभावजस्ता गुनासा पनि आएका थिए। अनुगमनका क्रममा विभागलाई पहिले केही असहज रहेको थियो। विगत डेड वर्षदेखि अनुगमनस्थलमा नै कारबाही गर्न पाउने कानुनी व्यवस्था भएपछि सहज भएको विभागले जनाएको छ।
पछिल्लो समय विभागले आफ्नो नियमित अनुगमनभन्दा पनि टोल फ्री नम्बरमा उपभोक्ताबाट आएका गुनासोका आधारमा अनुगमनलाई तीव्रता दिएको छ। जोकोहीलाई पनि सामग्री खरिद गर्दा समस्या भए वा अन्य कसैलाई ठगी गरेको जानकारी भएमा टोल फ्री नम्बरमा खबर गर्न पनि विभागले उपभोक्तालाई आग्रह गरेको छ। विगतमा चाडबाडको समयमा मात्रै अनुगमन गर्दै आएको विभागले अहिले यसलाई नियमित गरिरहेको छ।