काठमाडौं : ताप्लेजुङको सदरमुकाम फुङलिङ नगरपालिका ५ स्थित ट्याक्सी स्टान्ड भन्ने स्थानमा लागेको भीषण लागलागी हालसम्म पनि नियन्त्रणमा आउन सकेको छैन। राति १० वजेबाट शुरु भएको आगलागी नियन्त्रणमा लिने प्रयास जारी रहेको जिल्ला प्रहरीका कार्यालय ताप्लेजुङले जनाएको छ।
आगो नियन्त्रणका लागि नगरपालिकाको एउटा दमकल प्रयोग भएको छ। नेपाल प्रहरी, नेपाली सेना तथा स्थानीयले आगो निभाउने प्रयास जारी राखेको बताइएको छ। आगो अहिले १३ वटा घरमा फैलिएको छ।
एउटा मात्रै दमकल भएकाले पनि आगो निभाउन कठिन भएको र आगो निभाउन पानीको समेत अभाव भएको बताइएको छ। सो स्थानमा घरहरु बाक्लो रहेकाले पनि आगो निभाउन चुनौतिपूर्ण रहेको छ।
आगो एउटा होटेलबाट शुरु भएको प्रहरीले बताएको छ। आगलागी हुन अघि ग्यास पड्किएको सुनिएको बताइएको छ। तर, आगलागी कसरी शुरु भयो भन्ने जानकारी भने आएका छैन।
आगलागीबाट मानविय क्षति भने भएको छैन। मानिसहरु समयमै घरबाट निस्किएको प्रहरीले बताएको छ।
अपडेट (१२:२५ वजे) :
आगलागीबाट जिल्ला अदालत र कैदी बस्ने घरमा पनि क्षति पुगेको छ। आगो थप फैलिन नदिन प्रहरी र सेनाले घर भत्काउन थालेका छन्।
फोटोहरु : घटनास्थलमा रहेका स्थानीय पासाङ भाेटे।