PahiloPost

May 22, 2024 | ९ जेठ २०८१

प्रधानमन्त्री ओलीका पूर्व मन्त्रीहरु भन्छन् : बालुवाटारबाट 'ब्लन्डर' भइसक्यो



प्रकाश भण्डारी

प्रधानमन्त्री ओलीका पूर्व मन्त्रीहरु भन्छन् : बालुवाटारबाट 'ब्लन्डर' भइसक्यो

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को गुटबन्दी सतहमा छ। प्रधानमन्त्री केपी ओली र उनी इतर समूह शक्ति प्रदर्शनमा छन्। जसरी पनि पद जोगाउने रणनीतिमा जसरी ओली छन्, उनी इतरको समूह पनि उनलाई पदबाट हटाउने तरखरमा।

सांसदहरुको हस्ताक्षर गराएर एक अर्काविरुद्ध उत्रिएका यी दुई समूहमा को बलियो हुने भन्ने आज बस्ने भनिएको सचिवालय वैठक निर्णायक हुन सक्छ।

बालुवाटार घुँडा धसेर लड्न तम्सिँदा कुनै समय उनकै क्याबिनेटमा रहेर काम गरेका पूर्व मन्त्रीहरु उनीविरुद्ध मुखारित भएर उत्रिन थालेका छन्।

स्थायी कमिटीबाट सरकारको विकल्प

ओली नेतृत्वको मन्त्रीमण्डल बेला-बेला पुनर्गठन भयो। बालुवाटारले केहीलाई स्वागत गर्दा केहीलाई भने रुवाएर बिदाई गर्‍यो। जसको मुख्य कारण थियो, पार्टीभित्रको भागबण्डा। यसरी बिदा गरिएका मध्येका एक हुन् तत्कालीन श्रममन्त्री गोकर्ण विष्ट।

पार्टीमा माधवकुमार नेपाल निकट मानिने उनी सरकारमा रहँदा कार्यसम्पादनका हिसाबले राम्रै मन्त्रीमा गनिन्थे। तर, उनी नै ओलीको तारो बने। उनी आफूले गरेको काम जनता र पार्टीले मुल्याङ्कन गरेको दाबी गर्छन्।

पार्टीभित्र बहुमत नेताहरुले ‌ओलीको विकल्प खोज्न माग गर्दा उनी पनि यो सबैको टुंगो स्थायी कमिटी बैठकले लगाउनुपर्ने बताउँछन्।

अहिले सरकार परिवर्तन गर्न हुन्छ कि हुन्न?

पहिलोपोस्टको प्रश्नमा उनले भने,'यो मैले चाहेर हुने कुरा होइन साथीहरुसबैले स्थायी कमिटीको माग गर्नुभएको छ। चाँडै स्थायी कमिटीको बैठक बसोस र सबै कुरा टुंग्यावस्।'

उनी अहिले देखिएको समस्याको जड नेतृत्व भएको ठान्छन्। पार्टीभित्र पेलेरै जाने रणनीतिले अहिलेको परिस्थिति निम्तिएको बुझाइ छ विष्टको। सरकारले गरेका हरेक क्रियाकलापको पार्टीले समीक्षा गर्नुपर्ने उनको माग छ।

'सरकारले केके राम्रा काम गर्‍यो। त्यसको नेतृत्वकर्ताले के गर्‍यो यो त पार्टीले हेर्छ। पार्टीका विभिन्न संरचना छन् तिनले पनि यसलाई समीक्षा गर्छन्। बाहिर बहस गरेर काम छैन्,' उनले भने।

टिप्पणी गर्न लायक नै छैन

प्रधानमन्त्री ओलीलाई मन नपरेर बिदाइ गरिएका अर्का मन्त्री हुन् लालबाबु पण्डित। पहिलो कार्यकालमा पाएको स्यावासी पाउन नसके पनि उनी औशत मन्त्रीमा गनिन्थे। माधव नेपाल समूह निकट उनी पनि ओलीको निशानामा परे।

पण्डित सरकारबारे चर्चा गर्नु नै उपयुक्त देख्दैनन्। अरुले जे जसरी प्रधानमन्त्री र सरकारबारे धारणा बनाएका छन् त्यसभन्दा फरक आफ्नो धारण नभएको उनको तर्क छ।

'म अहिले टिप्पणी गर्न नै उपयुक्त देख्दिनँ। यो त सबैले गरिरहेकै छन् नि। जहाँसम्म प्रधानमन्त्री र नेताहरुको कुरा हो त्यसबारे पार्टीले निर्णय गर्छ,' उनले भने।

स्थायी कमिटी बैठक चाँडै बस्नुपर्ने माग छ उनको।

ओली शैली नै खराब

बंगलादेशमा पढिरहेका नेपाली महिलाबारे बोल्दा बिवादमा परेका शेरबहादुर तामाङ मन्त्रीबाट बाहिरिए। आलोचना बढ्दै गएपछि उनी वाध्य भएर राजीनामा गर्ने निर्णयमा पुगे। रुँदै राजीनामा गरेका थिए तामाङले। अहिले बालुवाटारको शैलीप्रति आक्रोशित छन् तामाङ। बालुवाटार बसेर सांसद बटुल्दै हस्ताक्षर गराउने प्रम ओलीको निर्णय आपत्तिजनक भएको टिप्पणी गर्छन्, उनी।

'प्रधानमन्त्री त हामी सबैको नेता हो। उहाँलाई संसदीय दलमा हामीले सय प्रतिशत मत दिएर नेता बनाएका हौँ। उहाँले अहिले किन मत जाँच्नुपर्‍यो? यो ब्लण्डर हो। आपत्तिजनक छ,' उनले भने।

उनी आफू लगायतका कार्यकर्ताले पार्टी एकता चाहेको दाबी गरे। एकता चाहे पनि प्रधानमन्त्रीले दल सम्बन्धी विधेयक ल्याएर विभाजन चाहेको उनको आरोप छ। अहिले सरकारमा सहभागी मन्त्री पनि सरकारले राम्रो गरेर लोकप्रिय होस् भन्ने नचाहने टिप्पणी गर्छन्, उनी।

'अहिले जति पनि साथीहरु सरकारमा सहभागी हुनुहुन्छ उहाँहरु बहसमा आउन चाहनुहुन्न। आफूलाई लागेको विषय स्वतन्त्रतापूर्वक भन्नुहुन्न। यसरी भन्ने उहाँहरुको क्यापासिटी पनि छैन्,' उनले आलोचना नै गरे, 'त्यो शैली पनि छैन। एकपक्षीय हिसाबले जे आउँछ त्यसैलाई सही गर्नेबाहेक केही नयाँ गरौं सरकारकालाई लोकप्रिय बनाउँ भन्ने विचार न मन्त्रीमा देखियो न बालुवाटारमा देखियो।'

सरकारका गतिविधिमा समस्या देखिएको तामाङको दाबी छ। केही काम राम्रा भए पनि सकारात्मक भाव उत्पन्न गर्ने गरी काम नभएको उनले आरोप लगाए। बालुवाटार वरिपरि बस्नेले सरकारको आलोचना भएको नदेखेको तामाङको भनाइ थियो।

'बालुवाटार वरिपरि बस्नेलाई लाग्न सक्छ कहाँ आलोचना भइरहेको छ? तर जनताको तहमा आलोचना भइरहेको छ,' उनले भने।

सबैभन्दा ठूलो समस्या प्रधानमन्त्रीको प्रवृत्तिमा भएको उनको ठम्याई छ। ओलीको पेलेरै जाने शैलीले नै पार्टी विभाजनको अवस्थासम्म पुगेको तामाङको तर्क छ।

'शैली त आ-आफ्नो हुन्छ। त्यो त परिवर्तन हुन नसक्ला। तर पनि सबैसँग कमसेकम बहुमत मान्छेसँग त्यसले म्याच खानुपर्छ। सबैलाई मिलाएर जानुपर्ने बेलामा एक्लै हिँड्न खोज्ने प्रवृत्तिले नै अहिलेको समस्या आएको हो,' तामाङले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell