
नयाँ दिल्ली : भारतले कोरोना संक्रमणलाई नियन्त्रणमा लिनका लागि अति प्रभावित १ सय ३० जिल्लालाई रेड जोनमा राखेको छ। भारतमा रहेका जिल्लाहरुको १७ प्रतिशत जिल्ला रेड जोनमा पर्दा त्यहाँको कूल जनसंख्याको ३३ प्रतिशत हिस्सा समेटिन पुगेको छ।
भारतले अरेन्ज जोन भनेर वर्गीकरण गरेका २ सय ८४ जिल्लाले त्यहाँको कूल जनसंख्याको ४३ प्रतिशत हिस्सा समेट्छ। भारतका ३ सय १९ जिल्लालाई ग्रिन जोनका रुपमा वर्गीकृत गरिएको छ जसले भारतको जनसंख्याको एक चौथाई हिस्सामात्र ओगट्छ।
महाराष्ट्रका १७ प्रतिशत जनसंख्या रेड जोनमा छन् भने उत्तर प्रदेशका १६ प्रतिशत र पश्चिम बंगालका १२ प्रतिशत जनसंख्या रेड जोनमा छन्।
ग्रिन जोनमा परेका स्थानमा पछिल्लो २१ दिन यता संक्रमणका कुनै पनि केस दर्ता भएका छैनन्। रेड जोनमा परेका चाहिँ अत्याधिक संक्रमण फैलिरहेका क्षेत्र हुन्।
भारतले बढ्दो संक्रमणको संख्या, निको भइरहेको अवस्था, परीक्षणको दर आदिलाई आधार मानेर तीन वर्गमा विभाजन गरेको हो।
यसअघि दुई भागमा मात्र विभाजन गर्दै कोरोना संक्रमणको मूल्याङ्कन गरिँदै आएको थियो। १४ दिनसम्म नयाँ केस फेला नपर्दा पनि रेड जोनलाई यथावत राखिएको छ भने २८ दिनसम्म थप नयाँ केस फेला नपरेका क्षेत्रलाई अरेन्ज जोनमा राखिएको छ।