
काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीका सांसद रामनारायण विडारीले वामदेव गौतम प्रधानमन्त्री बन्न नसक्ने दावी गरेका छन्। कानुनी र व्यवहारिक दुवै किसिमले वामदेवको प्रधानमन्त्री बन्ने सम्भावना नरहेको उनको भनाई छ।
उनले वामदेवको प्रधानमन्त्रीको इच्छालाई मृगतृष्णाको संज्ञा दिए। 'वामदेव गौतम मलाई मन पर्ने नेता हो। नेकपालाई पनि उहाँको आवश्यकता छ। तर, संविधान संशोधन गरेर राष्ट्रिय सभा सदस्य बनाएर उहाँलाई ज-जसले प्रधानमन्त्री बनाउछु भन्नुभएको छ, त्यो सजिलो यात्रा छैन। अत्यन्तै कठिन छ,' उनले पत्रकार युपी लामिछानेसँगको कुराकानीमा भनेका छन्, 'पहिलो कुरो जनमत विपरित हुन्छ, दोस्रो हाम्रो पार्टीको दुई तिहाई पुग्दैन। बामदेवलाई प्रधानमन्त्री बनाउन अरु दलले सहयोग गर्छन् भन्ने कुरो पत्यार लाग्दैन।'
त्यसकारण गौतमलाई प्रधानमन्त्री बनाउने कुरो मृगतृष्णा मात्रै भएको उनले टिप्पणी गरे। 'मरुभूमिमा अलि टाढा पानी हो कि जस्तो लागेर दगुर्दा दगुर्दै आशैआशमा मृग मर्छ,' उनले भने।
उनले माधव नेपाललाई पार्टीमा तेस्रो अध्यक्ष बनाउने प्रस्ताव गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक रुपमा नेपाललाई उडाउन खोजेको बताए। 'माधव नेपाललाई तेस्रो अध्यक्षको प्रस्ताव गरेर व्यङ्ग्य गर्नुभाको हो। उहाँलाई उडाउनुभएको हो,' उनको विश्लेषण छ।
अध्यादेश ल्याएर प्रधानमन्त्रीले गल्ती गरेको भन्दै विडारीले पार्टीले गरेको निर्णय सबैले मान्नुपर्ने बताए।
'ल्याउनुपर्ने कोरोना नियन्त्रण अध्यादेश थियो। ल्याउनुभयो दल फुटाउने अध्यादेश,' उनले थपे, 'यति बेला प्रधानमन्त्री ओलीको ठाउँमा अर्को व्यक्ति भए नि हुने नेकपाकै हो। त्यसकारण को प्रधानमन्त्री बन्ने भन्ने विषय ठूलो होइन। पार्टीले ओलीजीलाई सरकारको नेतृत्व गर्न पठाएको हो, पार्टीले फिर्ता बोलाए आउनुपर्छ। पार्टी निर्णय सबैले मान्नुपर्छ।'